मेडस्टोन — बेलायती सेनाको एक विशिष्ट र गौरवशाली अङ्गका रूपमा ख्याति कमाएको क्वीन्स गोर्खा इन्जिनियर्स (QGE) ले आफ्नो स्थापनाको ७८औँ वार्षिकोत्सव (१९४८–२०२६) एक भव्य समारोहबीच मेडस्टोनमा सम्पन्न गरेको छ।
मेडस्टोनस्थित बार्टन रोडमा अवस्थित मेडस्टोन ग्रामर स्कुलमा आयोजित यस विशेष समारोहले गोर्खा फौजको ऐतिहासिक पृष्ठभूमि, सुदृढ सैन्य परम्परा र बेलायती समाजमा उनीहरूको गहिरो संलग्नतालाई पुनः उजागर गरेको छ।
एक्स-क्यूजीई दक्षिण केन्ट कमिटीको आयोजना तथा व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा सेवारत तथा भूतपूर्व सैनिकहरू, उनीहरूका परिवारजन र स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रम र आतिथ्यता
शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन दिउँसो २:०० बजे पाहुनाहरूको आगमनसँगै औपचारिक रूपमा सुरु भएको कार्यक्रमले सैनिक तथा नागरिक समुदायबीचको प्रगाढ सम्बन्धलाई थप बलियो बनाएको छ।
क्याप्टेन (रिटायर्ड) याम पुनको अध्यक्षतामा सञ्चालित यस कार्यक्रमको व्यवस्थापनमा उपाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) ओम बुढा, मानार्थ सचिव एसएसजीएम (रिटायर्ड) सङ्घर्ष राई, सचिव एसएसजीएम (रिटायर्ड) फुर्तेन्जी शेर्पा, कोषाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) बिनम राना लगायतका कमिटीका पदाधिकारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, कल्याण सचिव मेजर (रिटायर्ड) राजेन गुरुङ र सामाजिक सचिव एसएसजीएम (रिटायर्ड) कमल गुरुङले व्यवस्थापकीय पाटोलाई सुचारू राख्न सक्रिय योगदान पुर्याएका थिए।
यस गरिमामय अवसरमा आरएचक्यू क्यूजीई (GM, RSM), कर्नल (रिटायर्ड) वाकर, मेजर (रिटायर्ड) मूर, सीएम क्यूजीई, लेफ्टिनेन्ट कर्नल (रिटायर्ड) गोच, चार्ली कोर्बेट, मानार्थ सचिव क्यूजीई तथा मेडस्टोन ग्रामर स्कुलका हेडटिचर, सीसीएफ कमान्डर र दीपक हिमाललगायत थुप्रै विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
केक कटिङ र साङ्गीतिक आकर्षण
दिउँसो १५:४० बजे शाखाको औपचारिक उद्घाटनसँगै केक काट्ने कार्यक्रम सम्पन्न भयो। जन्मोत्सवको उक्त केक ‘लायन एन्ड फिडल पब’ का रमेश राणाले प्रायोजन गरेका थिए। केक काट्ने कार्यक्रमपश्चात् उपस्थित सबैको सामूहिक तस्बिर लिइएको थियो।
साँझको सत्रमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उत्सवको माहोललाई थप जीवन्त बनाएका थिए।
चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता निता थापा मगर र कलाकार अस्मिता रानाको साङ्गीतिक प्रस्तुतिमा सहभागीहरूले भरपुर आनन्द उठाएका थिए।
कार्यक्रमको सुरुवात QGE का पाइपरद्वारा प्रस्तुत परम्परागत धुनहरूले कार्यक्रममा विशिष्ट साङ्गीतिक ऊर्जा थपेको थियो। यसबाहेक, केन्ट शाखाको आवश्यकता र त्यसले खेल्ने भूमिकाका बारेमा अध्यक्ष याम पुनद्वारा प्रस्तुत जानकारीमूलक मन्तव्यपछि राखिएको राफल ड्र (Raffle Draw) कार्यक्रमले उत्सवको रौनकलाई अझ पूर्ण बनाएको थियो।
ऐतिहासिक पृष्ठभूमि र विशेष रुटिन अर्डर
यस विशेष वार्षिकोत्सवका अवसरमा क्वीन्स गोर्खा इन्जिनियर्सका कमान्डेन्ट लेफ्टिनेन्ट कर्नल एस ए पार आरईले जारी गर्नुभएको विशेष रुटिन अर्डरमार्फत रेजिमेन्टको लामो र सङ्घर्षपूर्ण ऐतिहासिक यात्राको स्मरण गरिएको थियो। रिटायर्ड क्याप्टेन चेत थापाले सो पत्र पढेर सुनाउनु भएको थियो।
सन् १९४८ को अक्टोबरमा रोयल इन्जिनियर्सअन्तर्गत पहिलो पटक गोर्खा सैनिक तथा अधिकृतहरू ट्रेनिङ स्क्वाड्रनमा भर्ना भएपछि यसको सुरुवात भएको थियो।
तत्पश्चात् विभिन्न फिल्ड स्क्वाड्रनहरूको गठन हुँदै सन् १९५५ को सेप्टेम्बर २८ मा यो इकाई आधिकारिक रूपमा ‘द गोर्खा इन्जिनियर्स’ बन्न पुग्यो। रेजिमेन्टको निष्ठा, बहादुरी र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै महारानी एलिजाबेथ द्वितीयबाट सन् १९७७ अप्रिल २१ मा यो रेजिमेन्टलाई प्रतिष्ठित ‘क्वीन्स गोर्खा इन्जिनियर्स’ को उपाधि प्रदान गरिएको थियो।
वर्तमान भूमिका र भविष्यप्रतिको प्रतिबद्धता
मलेसिया र बोर्निओका जङ्गलदेखि हङकङ ग्यारिजनसम्म तथा विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा रणनीतिक क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापनामा प्रभावकारी भूमिका खेल्दै आएको यो रेजिमेन्ट हाल मेडस्टोनस्थित इन्भिक्टा पार्क ब्यारेक्समा स्थायी रूपमा आश्रित छ।
३६ इन्जिनियर रेजिमेन्टसँगको सहकार्यमा स्थानीय समुदायसँग पूर्ण रूपमा घुलमिल भएका QGE का सैनिकहरूले आज विश्वका १६ भन्दा बढी स्थानहरूमा आफ्नो व्यावसायिक दक्षता र सेवा प्रवाह गर्दै आएका छन्।
कलाकारहरूको बेजोड उत्कृष्ट साङ्गीतिक प्रस्तुतिसँगै सहभागीहरूको सामूहिक रमाइलो नाचगानसहित राति ठीक २०:३० बजे कार्यक्रमको औपचारिक समापन गरियो। आफ्ना पूर्वसैनिक तथा परिवारबीचको आपसी सहकार्य, सुखदुःखमा एक अर्कालाई बलियो सहारा दिँदै सधैँ एकताबद्ध ‘QGE परिवार’ भएर बाँच्ने सङ्कल्पका साथ सम्पन्न भएको यस कार्यक्रमले सबैको मन जितेको छ।
कार्यक्रमको सञ्चालनमा सचिव सङ्घर्ष राई रहेका थिए, व्यवस्थापनमा ओम बुढासहित सबैको उत्साहपूर्ण र स्वतःस्फूर्त सहभागिता रहेको थियो।
अन्तमा, अध्यक्ष रिटायर्ड क्याप्टेन याम पुनले सम्पूर्ण प्रायोजकहरू, किशोर राना – बुद्ध मोर्टगेज, मान सुनुवार – हाइड्रोनिक हिटिङ, सूर्य गुरुङ – पिपल मोर्टगेज एन्ड रेस्टुरेन्ट, रमेश सारङ्कोटी – ए स्टार मोर्टगेज, क्युजीईका रिटायर्ड गोर्खा मेजरहरू, सहयोग गर्ने सङ्घ-संस्था, व्यक्तिहरू, रेस्टुरेन्टहरू, उपस्थित कलाकार तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
– भूमिराज राई


