यस्तो रहेछ, मन्त्रीले नै खोलेको त्रिपाल घोटालाको रहस्य

काठमाडौं- सहरी विकास मन्त्रालयले केही सय त्रिपाल भरपाई नगरी वितरण गरेको स्विकारेको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई जानकारी गराउने क्रममा सहरी विकासमन्त्री नारायण खड्काले वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस भएपछि भरपाई हुन नसकेको बताए।

‘त्रिपाल वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस नभएको होइन, प्रहरीले पनि केही गर्न सकेन,’ मन्त्री खड्काले भने। भूकम्प गएपछिको अवस्था निकै त्रासदीपूर्ण रहेकोले त्रिपालको भरपाई राख्न नसकिएको भनाई उनको थियो। अहिले कुनै पनि निस्कर्षमा पुग्दा त्यतिबेला कर्मचारीको मनोभावलाई विर्सन नहुने तर्क उनले राखे।

‘सबै पसल बन्द दिए। सरकार असफल भयो, नालायक भयो। एउटा पाल पनि दिन नसक्ने भनि दवाब आईरहेको थियो। डर, त्रास, बीच त्रिपाल खरिद र वितरण गर्दा केही कमजोरी भए होलान्,’ भावनामा बहकिदै मन्त्री खड्का भन्दैथिए, ‘जनताको जिवन बचाउने राष्ट्रको दायित्व हो। यो दायित्व पुरा गर्न दिनभर त्रिपालको लागि बार्गेनिङ गरेर बसेको भए सकिदैनथ्यो।’

निर्णय कहिले काँही अवस्था हेरेर लिनु पर्ने उल्लेख गर्दै उनले त्यसलाई पछि विर्सन नहुन जनाए। उनले भने, ‘दिउसो वितरण गर्दा फोटो खिची पत्रिका आउने भएकोले मन्त्री र सभासदलाई विहान र बेलुकी हामीले त्रिपाल बाँडेका थियौं।’

मन्त्रीसँगै उपस्थित भएका सहरी विकास सचिव अर्जुनकुमार कार्कीले भरपाई नभएका ३ हजार १ सय ९९ सय त्रिपाल मध्ये केही कस्ले लगेको पत्ता लागेको जानकारी समितिलाई दिए। ‘ओखलढुंगाका दुई जना सभासद (रामहरी खतिवडा र यज्ञराज सुनुवार) ले लग्नु भएको १ हजार थान त्रिपाल पनि भरपाई नभएका ३ हजार १ सय ९९ थान त्रिपाल भित्र पर्ने रहेछन् ,’ सचिव कार्कीले दुई सभासदको नाम नलिई भने।

वैशाख १२ गते विनाशकारी भूकम्प गएलगत्तै त्रिपाल वितरण गर्दा दुई सभासदसँग पनि भरपाई लिन छुटेको दाबी गर्दै उनले यस्तो संख्या निकै कम रहेको बताए। भरपाई नभई वितरण भएका त्रिपाल केही मन्त्रि, सभासद, पत्रकार, सुरक्षा कर्मीले लगेको उनले बताए, तर नाम भने उनले लिएनन्। मन्त्रालयले हालसम्म ४ लाख २५ हजार त्रिपाल खरिद गरेको समितिलाई जानकारी दिंदै उनले भने, ‘केही सयको संख्यामा मात्र त्रिपालको भरपाई नभएको पाइएको छ।’

सचिव कार्कीको दाबी १५ मिनेट पनि टिकेन। ‘एक हजार त्रिपाल ओखलढुंगाका दुई सभासदले लगे भन्नुहुन्छ, तीनको नाम किन लिन सक्नुहुन्न?,’ समितिको बैठकमा आक्रोसित हुँदै सांसद धनराज गुरुङले भने। गुरुङ्को बोली भुईमा खस्न नपाउँदै त्यहीं समितिको बैठकमा रहेक ओखलढुंगाका सभासद रामहरी खतिवडा बिचैमा भने, ‘एक हजार त्रिपाल लैजाने ओखलढुंगाका दुई सभासद मध्ये एउटा म हुँ।’ भरपाइ गरेर लगेको दाबी उनको थियो।

‘यसरी खुल्ने रहेछ त पोल विस्तारै विस्तारै। यथार्थ विवरण नभन्ने तपाईहरु (सहरी विकास मनत्री र सचिव) लाई कारवाही किन नगर्ने?,’ सांसद गुरुङले प्रश्न गरे। उनले यसो भनिरहँदा मन्त्री खड्का र सचिव कार्की एकअर्कालाई हेर्दै मुसुमुसु हाँसी रहेका थिए। त्यसपछि सांसद गुरुङले कड्किंदै भने, ‘त्रिपाल खरिद र वितरणमा ठूलो भ्रष्टाचार भएको म देख्दै छु।’ त्यसपछि सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले पनि आफूले १ हजार त्रिपाल मन्त्रालयसँग लिई वितरण गरेको समितिलाई सुनाए। नागरिक दैनिकमा समाचार छ।

‘मैले किन्न खोज्दा नपाएपछि मन्त्रालयसँग मागेर १ हजार त्रिपाल लगेको हो,’ सांसद बस्नेतले भने।

बैठकमा अर्का सांसद विकास लम्सालले मुलुकको अवस्था अतिरञ्जित गरेर त्रिपाल वितरण विवरण पेश गरिएको बताए। भरपाई नगरी वितरण भएका त्रिपालमा सबैलार्य मुछी चुप लगाउन खोजिएको आशय उनको थियो। उनले भने, ‘मुलुक अफ्ठेरो अवस्थामा रहेकाबेला कसैले फाइदा उठाउनु हुँदैन। उठाउनेलाई दण्डित गरिनुपर्छ।’

देशको भयाभव अवस्था व्याख्या गरेर मन्त्री र सचिवले समितिलाई अनियमितता ढाकछोप गर्न खोजेको आरोप सांसद प्रेमबहादुर सिंहको थियो। उनले समिति भावनामा नवहने समेत जनाए। ‘हामीले राहत वितरणमा सरकारले लिएको एकद्वार प्रणालीको समर्थन गर्यौं। यो अनियमितता नहोस भनेर गरेको हो। तर केही सांसदले भने त्रिपाल बोकेर जान पाउने, कसैलाई भने जानै नदिने। यही हो सरकारको एकद्वार प्रणाली?,’ सांसद सिंहले प्रश्न गरे।

भरपाई नदिई वितरण भएका त्रिपालका सम्बन्धमा छानबीन पछि सार्वजनिक भएका दुई वटा प्रतिवेदनमा मन्त्रालयले दुई थरी जवाफ दिएकोले नियत सफा नभएको सांसद धनराज गुरुङले बताए। उनले भने, ‘एउटा प्रतिवेदनमा पीडितले जर्बजस्ती त्रिपाल लगे भनिएको छ अर्कोमा हावाहुरी, मन्त्री, सांसद, पत्रकार, सुरक्षाकर्मीले। मन्त्रालयको नियत सफा छैन भन्ने यहीं देखिन्छ।’

बैठकमा जवाफ दिने क्रममा मन्त्री खड्काले सरकारकै एकद्वार प्रणाली विपरित त्रिपाल वितरण गर्ने सांसदको मुत्त कण्ठले प्रशंसा गरे। ६० जना सांसदले आँफुहरुको विजोक भएको भन्दै त्रिपाल मागेपछि दिने निर्णय गरिएको उनले समितिलाई जनाए। ‘जसले त्रिपाल आफै लग्नु भयो म उहाँहरुको प्रशंसा गुर्छ। त्यस्तोबेला सहयोगको हात अघि बढाएकोमा उहाँहरुलाई धन्यावाद,’ मन्त्री खड्काले भने।

बैठकमा समितिमा सदस्य मध्ये १३ जनाले त्रिपाल खरिद र वितरणका विषयमा बोलेका थिए। बोल्ने मध्ये एक/एक जना नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सांसद थिए भने बाँकी सबै नेपाली कांग्रेसका। बैठकमा बोल्ने कांग्रेसका धेरै सांसदले मन्त्री तथा कांग्रेस नेता खड्का र मन्त्रालयको बचाउ गरेका थिए। ‘कर्मचारीले भ्रष्टाचारै भ्रष्टाचार गरे भनी कर्मचारीको मनोवल गिराए भोलि कस्ले काम गर्छ,’ सांसद दीपक खड्काले भने।

सचिव कार्कीले बैठकमा मन्त्रालयले खरिद गरेका मध्ये ७३ हजार त्रिपाल हेटौंडा र १ लाख ११ हाजर त्रिपाल गृहमन्त्रालयसँग रहेको जानकारी दिए। खरिद गरेका मध्ये कूल १ लाख ८४ हजार त्रिपाल मनसुनको लागि भनि सुरक्षित राखिएको उनले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7085