राजेश हमालको आग्रह गाउंलेले मानेनन् … !


सिरहा धनगढीका दीपक मलिकलाई पनि इनारको पानी आफैं भर्न दिन गाउँलेलाई अनुरोध गर्दै अभिनेता राजेश हमाल। तर, सयौ गाउँलेले अवरोध गरेपछि दीपकको संघर्ष र राजेशको प्रयास अधुरै रह्यो।

‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौँ त?’ धनगढी गाविस–३ नयनपुरकी ममता मलिक (डोम)ले यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो। उनले थपिन्, ‘छेउमै इनार छ। तर, पानी लिन नपाएर यतिवेलासम्म खाना पकाएर खान पाएका छैनौँ।’

सोमबार उनको घरवरपर स्थानीयको भीड लागेको थियो। त्यहाँ उपस्थित भएका अधिकांश ममता र उनका दाजु २१ वर्षीय दीपक मलिकलाई धारे हात लगाइरहेका मात्र थिएनन्, कोही कुट्न खोजिरहेका थिए। वर्षौंदेखि खानेपानीमा छुवाछुत भोग्दै आएको मलिक (डोम) परिवार पछिल्लो तीन दिनदेखि ज्यादा तनावमा छ। नयाँ पत्रिकामा दिलीप सिंह लेख्छन्।

‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा नेपाली चलचित्रका अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक इनार पुगेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन। सोमबार स्थानीय गैरदलितहरूले उनीमाथि हातपातको प्रयाससमेत गरेका छन्।

घरनजिकै इनार भएर पनि मलिक परिवारले अहिलेसम्म आफूले पानी निकालेर खान पाएको छैन। जसका कारण उनको परिवारले दुई किलोमिटर टाढा रहेको इँटाभट्टाबाट पानी ल्याउनुपर्छ। वर्षौंदेखि जातीय विभेद खेपिरहेको मलिक परिवारको दु:ख छायांकन गर्ने क्रममा साझा सवालका तर्फबाट अभिनेता हमाल मलिकको घर पुगेका थिए। उनीसँगै बसेर चिया खाएपछि कुराकानीका क्रममा नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थाहा पाएपछि हमाल उनलाई लिएर इनारसम्म गएका थिए। तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरका महिला–पुरुषले इनारलाई घेरा हालेर मलिकलाई रोके।

स्थानीयको आक्रोशका अगाडि हमालको केही जोर चलेन। पहिले पानी भरेर खान इसारा गरेका हमाल भीडको खबरदारीपछि हच्किए। स्थानीयको घेराबन्दीपछि हमालले सुरुमा एक शब्द निकाल्न सकेनन्। दीपकले भने, ‘आफू त वर्षाैंदेखि यस्तो खेपेकाले आश्चर्य लागेन, तर राजेश सरले भीडलाई देखेर केही बोल्नै सकेनन्। दर्जनौँ चलचित्रमा नायकको भूमिका निभाएर अन्याय, अत्याचार, कुसंस्कार र छुवाछुतलाई पराजित गरेका हमालले त्यहाँ स्थानीयलाई भने सम्झाउने प्रयासमा सफलता पाएनन्। त्यसपछि स्थानीय गैरदलित रामनारायणले निकालिदिएको पानी बोकेर दीपक हमालसँग घर फर्किए।

दीपकलाई इनारबाट पानी निकाल्न गैरदलितले मात्र होइनन्, नजिकै रहेका दलित समुदायका मुसहर र राम (चमार)हरूले समेत बाधा पुर्‍याउने गरेका छन्। ‘बरु स्थानीय रामनारायणले पानी भरेर दियो। पानी भर्ने विषयमा हिरो हमालसँगै केही बेर कुराकानी पनि भयो। तर, स्थानीयले मानेनन्। हामीलाई पानी भर्न नदिने उपल्लो जातका मानिस त छँदै छन्, दलितभित्रकै मुसहर र राम(चमार) हरू लागेपछि हामीले केही गर्न सकेका छैनौँ,’ सोमबार उनले भने, ‘गएको वैशाख ४ गते पानी भर्न मेरी आमा जाँदा पानी ल्याउन त दिएनन् नै, गालीगलोज र हप्कीदप्की खेप्नुपर्‍यो।

कतिपटक प्रहरीकै अगाडि पानी लिन जाँदा पनि हामीमाथि हातपात भएको छ।’ सोमबार साझ दीपकसँग कुराकानी गरिरहँदा वर्षौंदेखि पीडा खेपेकी उनकी ५५ वर्षीया आमा प्रमिला मलिक भकानिएर रुन थालिन्। रुँदै उनले भनिन्, ‘छोरा त आज ठूलो भयो। म ५५ वर्षकी भएँ। कति दु:ख भोगेकी छु पानीका लागि। घरको दुवै छेउमै इनार छन्। गाउँभरिको सबैजना त्यही इनारबाट पानी खान्छन्। तर, मलाई तीन किलोमिटर परबाट पानी ल्याउनुपर्छ।’ उनले थपिन्, ‘धेरै तिर्खा लाग्दा पानी लिन इनार गयो भने त्यहाँ रहेकाहरूले पानी भरेर मेरो भाँडोमा हालिदिन्छन्। तर, इनार छुन दिँदैनन्। पुलिस आउँदा पनि पानी भर्न दिँदैनन्। के गर्नु, टाढैबाट ल्याउँछु। पानी त खानैपर्‍यो। पानीविना त बाँच्न सकिँदैन।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7816