विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो

सन्दर्भ तस्बिर

काठमाडौँ । असारभरि धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ।

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ।

अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असारभरि कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो, मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

लुतो फाल्दा आ-आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो।

दक्षिणायन सुरु

साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु भएको छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्त जम्मा भई रमाइलो गरेर मनाएका छन्।

साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । उहाँका अनुसार साउन महिनाभरि देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ।

साउन महिना शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। रासस





Comments

comments

139806