ग्रीनिचकपको पाँचौ संस्करण लण्डनमा भव्यताको साथ सम्पन्न

सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम –
लण्डन, ०२ अगस्त, २०१५ को दिन विलविचस्थित राँयल अर्टिलेरी ब्यारेकको फुटबल मैदानहरुमा ग्रीनिच कप २०१५ भव्यताको साथ सम्पन्न भएको छ। यो ग्रीनिच कपको पाँचौ संस्करण थियो।

दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डन र नेपाली यूथ एसोसिएशन यूकेको संयुक्त आयोजनामा सम्पन्न यसपालीको ग्रीनिच कप फुटबल टुर्नामेन्टमा १५ वटा फुटबल टिमहरुको सहभागिता थियो। आपेक्षा गरेभन्दा बढि प्रायोजकहरुको संलग्नता र त्यहाँका स्थानीय नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो। तोकिएको समयभन्दा एकघण्टा पछि शुरु भएको टुर्नामेन्टका लागि उद्घोषकद्वय योगेश गुरुङ र सुर्य गुरुङले अन्तिम समयसम्म उद्घोषण सम्पन्न गरेका थिए।

यस पटकको रिफ्रेशमेन्ट तथा खानपानको व्यवस्थापन दक्षिणपूर्व लण्डन पाशा पुचा गुठीले गरेको थियो। आयोजकले हप्तौ अघिदेखि यस टुर्नामेन्टका लागि भव्य तैयारी गरेको थियो। टुर्नामेन्ट सफल पार्नका लागि संयोजक दिपेन गुरुङ, ग्राउण्ड कन्ट्रोलमा समाजका सल्लाहकार चैन्द्रजंग गुरुङ, रेफरीहरुमा अलान ओनियल, रुद्र गुरुङ, लुका’स र दिपेन गुरुङ, दुईवटै संस्थाका अध्यक्षहरु क्रमशः श्रीचन्द्र गुरुङ, ह्यारी गुरुङ, तथा दुईवटै संस्थाका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु र प्रमुख भूमिका निभाउने आमा समुहको अथक प्रयास रहेको थियो।

दिनभरी खेलिएको टुर्नामेन्टको अन्तिम नतिजा क्रमशः मङ्गोलियन भान्जाज प्रथम (नगद पुरस्कार १५ सय पाउण्ड, रनिङ शील्ड, ट्रफीहरु), दोश्रो एफसी तोङ्बा ( नगद पुरस्कार ५ सय पाउण्ड र ट्रफीहरु), तेश्रो प्लमस्टिड युथ क्लब (नगद पुरस्कार ३ सय पाउण्ड र मेडलहरु), चौथो (नगद पुरस्कार २ सय ५० पाउण्ड तथा मेडलहरु) रहेको थियो । बेलायतमा पहिलोचोटि फुटबल प्रत्तियोगितामा तेश्रो र चौथो हुनेलाई नगद पुरस्कार प्रदान गरिने पहिलो पटक रहेको कुरा आयोजकले बताएका छन्। यसैगरि उत्कृष्ट खेलाडीमा किरन राई तथा बढि गोल दाग्नेमा अर्पण गुरुङ रहेका छन्।

टुर्नामेन्टको क्रममा केहिदिन अघिदेखि ग्रीनिच राँयल बारोमा सबै संस्थालाई समेट्ने गरि एउटा नयाँ संस्था स्थापना गर्ने प्रसङ्ग चलेको थियो। कुमार श्रेष्ठको अध्यक्षतामा १७ जना सदस्यहरु सहितको राँयल ग्रीनिच नेपाली असोसिएशनको तदर्थ समितिको घोषणा संस्थाका सल्लाहकार एलएन पान्डेले माईकद्वारा सबैलाई सूचित गरेका थिए। फाईनल प्रत्तियोगिता खेल्नु अघि पाशा पुचा गुठीको तर्फबाट लाखे नाचको प्रदर्शन पनि भएको थियो। नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएपछि सम्पन्न भएको फाईनल खेल एकदमै रोचकपूर्ण रहेको थियो।

सफा मौसमबिच सम्पन्न यस खेलका प्रमुख अतिथि राँयल ग्रीनिच बारोका मेयर, काउन्सिलर नरमन अडाम्स थिए, अन्य अतिथिहरुमा शाफा डिभिजन सेक्रेटरी जेरी आर्मस्ट्रोङ, क्यानोन सेक्युरीटीका म्यानेजिङ डाईरेक्टर स्टिभ ब्र्राउन, तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्य) गुरुङ, एनआरएनए बेलायत च्याप्टरका अध्यक्ष महेन्द्र कण्डेल तथा टुर्नामेन्टलाई प्रायोजन गरेका विभिन्न संस्थाका व्यक्तित्वहरु आदि थिए । पुरस्कार वितरण समारोहलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए। औपचारिक कार्यक्रमलाई नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष ह्यारी गुरुङले स्वागत गरेका थिए। त्यसपछि प्रमुख अतिथि, अतिथिहरु, संयोजक दिपेन गुरुङ तथा अध्यक्ष श्रीचन्द्र गुरुङको धन्यवाद ज्ञापन पछि पुरस्कार वितरण प्रमुख अतिथि तथा अन्य अतिथिहरुको बाहुलीबाट वितरण गरिएको थियो।

पुरस्कार वितरणको क्रममा टुर्नामेन्टलाई प्रायोजन तथा सहयोग गरेका व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसापत्र दिएर सम्मान गरेको थियो। यस मध्ये बडि बिल्डिङ क्षेत्रमा नेपालको धर्माश्री उपाधि सहित अनेकौ अन्तर्राष्ट्रिय पुरस्कारहरुको विजेता, नेपालीहरुको गौरव सानु गुरुङलाई खादा र प्रशंसापत्र सहित सम्मान गरिएको थियो। अर्को वर्षको टुर्नामेन्ट ३० जुलाई २०१६ को दिनमा त्यही मैदानमा सम्पन्न हुने सूचना आयोजकले दिएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7813