विश्वासदीप तिगेला / एचकेनेपाल डट कम –
गत ६ फेब्रुवरी २०१६ का दिन नेपाल आदिवासी जनजाति महासङ्घको आयोजनामा नेपाली दूतावास भवन लण्डनमा प्रथम शहिद लखन थापामगर स्मृति सभा सुसम्पन्न भयो।
राजा सुरेन्द्र विक्रम शाहलाई पिंजडामा झै राखि आफै स्वघोषित श्री ३ जंगबहादुर राणाको ज्यादतीविरुद्ध जनतालाई उठाएर जाई लाग्ने गोरखा बुङकोटका लखन थापामगरलाई वि.स. १९३३ फागुन २ गते जंगबहादुरको देवीदत्त पल्टनले झुण्डाई मारेका थिए । थापामगरको हत्या गरिएको १३९ बर्षपछि गत ३ असोज २०७२ का दिन नेपाल सरकारले उनलाई प्रथम शहिद घोषणा गरेको हो । थापामगरलाई शहिदको रुपमा २०५६ मै घोषणा गरेको भएतापनि प्रथम शहिदको रुपमा मान्यता दिन बाँकी थियो।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीले आगामी बर्षदेखि सबै शहिदहरुलाई दुतावासमै सम्झना गर्ने बताउनु भयो । स्मृति सभामा प्रथम शहिदको बारेमा विश्वास दीप तिगेलाले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यपत्रमा हाल भोगचलनमा रहेको सत्ता, शक्ति निर्माण संग सम्बन्धित इतिहासका शहिदहरु मध्ये इतिहासमा भेटिएका पुरानो÷जेष्ठ शहिद नै पहिलो मान्नु पर्दछ । जसको पर्याप्त भौतिक प्रमाण, समुदायको दावी, समाजको स्वीकृति नै यसका आधार हुनुपर्दछ । प्रमाण, दावी र स्वीकृति भएपनि हाल तत्कालिन सत्ताशक्तिको निरन्तरता वा भोगचलन छैन भने त्यसलाई देशले शहिद मान्न नसक्ने तर सम्बन्धित समुदायले आस्थाको सम्पतिको रुपमा लिन सक्दछ । कथा, श्रुति र धर्मग्रन्थका पात्रहरुलाई पनि शहिद मान्न सकिन्दैन भन्ने तर्क समेटिएको छ । प्रथम शहिदको निमित्त आवश्यक सबै कुरा लखन थापामगरको इतिहासमा पाइएको उल्लेख छ । अर्का बक्ता टेक बहादुर खस क्षेत्रीले भारतबाट इष्टिइण्डिया कम्पनी हटेपछि इष्टिइण्डियालाई सहयोग गर्ने नेपालका राणा शासनको अन्त्य गराउन भारतमै जयन्तु संस्कृतम आन्दोलनको योजना बन्यो । उक्त योजनालाई सहयोग गर्नेहरु मारिएका तथा दोषी ठहर पछि फाँसि चढाइएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल थापालाई चाहि वि.स. १९९७ मै शहिद घोषणा गरिएको बताउनु भयो।
कार्यक्रममा पूर्व वाणिज्य मन्त्री विजयप्रकाश थेवे, आदिवासी जनजाति महासङ्घ युकेका पूर्व अध्यक्षद्धय सिरीप्रसाद लिम्बु, थर्क रानामगर, तुलप्रसाद तुलाचन, पूर्ण लक्सम, धर्मबहादुर तामाङ, भक्त दुरा, जंग सुनुवार, शशि थापासुब्बा, छेत्रकला राई, नरेशमणि काङमाङ, कमला थापा, पदम गाह, साना शेर्पा, केहरसिं राना, विमला सेने लगायतले शहिदहरु तथा प्रथम शहिदको बारेमा बोल्नु भएको थियो । गैर आवासिय संघ युके, विश्व नेपाली साहित्य महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ युके लगायतका प्रतिनिधिहरु सहभागि थिए। अंधिकाश बक्ताहरुले आगामी बर्षदेखि दुतावास आफैले प्रथम शहिद थापाको स्मृति दिवस मनाउनु पर्ने विचार ब्यक्त गरेका थिए । कार्यक्रममा विसन थापाले प्रथम शहिदको बारेमा गीत गाउनु भएको थियो भने वीरबहादुर थापाले गीत गाउनु भइ मनोरन्जन दिलाउनु भएको थियो ।
दुतावासको भित्तामा सजाएर राख्नको निम्ति प्रथम शहिदको फोटो मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुन र बोमप्रसाद सुनारीले कार्यबाहक राजदुत क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै गरि शहिद घोषणा अभियानमा योगदान पुरयाउनुहुने विजय हितानमगर लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।
आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्यालको सभापतित्वमा सम्पन्न स्मृति सभामा महासचिव कर्म पहाडी शेर्पाले संचालन गर्नुभएको थियो । सभाको ब्यवस्थापकीय प्रायोजन नेपाल मगर संघ युकेले गरेको थियो । प्रथम शहिद थापामगरको स्मृतिसभा प्रत्येक बर्षको फागुन २ गते मनाउने प्रचलन रहेको छ जसअनुसार यो बर्ष फेब्रुवरी १४ का दिन पर्दछ।
प्रथम शहिद लखन थापामगरको योगदानको चर्चा ? – विश्वास दीप तिगेला
हामी सार्वभौम मुलुक नेपाल र सार्वभौम सम्पन्न नागरिक हुनुमा गर्व गर्दछौ । दुई विशाल मुलुकहरुको बीचमा सावैभौम र इतिहासमा कहिल्य उपनिवेशन नभएको अक्षुण नेपाल बनाउने महान अग्रजहरु प्रति सधै उच्च सम्मान गर्ने गर्दछौ । इतिहास सधै जित्नेको लेखिन्छ भन्ने मान्यता अनुसार प्राप्त इतिहासहरु सहि वा गलत कसी लगाएर हेर्ने काम अब शुरु भएको छ । श्री ५ पृथ्वी नारायण शाहको गोर्खा राज्य विस्तार तथा एकात्मककरणकै उपज हो अहिलेको नेपाल । हत्यारा, खुनी, पापी वा महान जे भनिएपनि पृथ्वी नारायण शाहलाई गोर्खा राज्य विस्तारमा साथ दिने मुख्य समुदाय मगर नै हुन । अन्य जाति समुदायले पनि साथ दिएका थिए तर तुलनात्मक रुपबाट सबैभन्दा अगाडि मगर जातिलाई लिनु पर्दछ।
राजालाई निश्चित घेराबन्दिमा राखेर आफै श्री ३ घोषणा गर्ने जंगबहादुरले आफ्नो शक्तिलाई सुरक्षित गर्नको लागि तत्कालिन नेपालको अस्मिता ब्रिट्रिस इष्टिइण्डिया कम्पनीलाई चढाउनु सार्वभौम मुलुकको लागि सुहाउदो थिएन । तत्कालिन संचेत जनताहरु जंगबहादुरको रवैया प्रति सन्तुष्ट थिएन्न । त्यसैले नेपाली सेनामा सेवा गरिरहेका लखन थापामगरलाई असहिए भयो । वास्तवमा देशको राजा र जनतालाई दबाई राख्न ब्रिट्रिसको चाकरी गर्नु विल्कुल गलत थियो । शक्तिकै भरमा जनतालाई चरम सास्ति दिईरहेका थिए । तब थापामगर आफ्ना सहयोगीहरु सहित विद्रोहमा उत्रिए । त्यसवेलाको मनोविज्ञानलाई समेत बुझेर सपनामा मनकामनामाईले जंग बहादुरको अत्याचार विरुद्ध लड्न अह्राएको भनी प्रचारप्रसार गर्दै हिम्मतका साथ विद्रोह गरे । राणाहरुको दबदबा रहेको त्यो बेला राणाहरुकै विरुद्धमा विद्रोह गर्नु सोच्न पनि नसकिने कुरा थियो । तर, थापामगरले अत्याचारी राणाको विरुद्ध सहासपूर्वक विद्रोह गर्नु र सारा जनताले साथ दिनुको अर्थ हो उनी विद्वान पनि थिए । विगत, बर्तमान र भविश्य र सार्वभौम देशको अर्थ र अधिकार बुझन सक्ने नेता थिए । अर्का (म्लेच्छ, ब्रिटिस) को संरक्षण लिएर राजा र जनता माथि ज्यादती गर्नु सोह्रैआना गल्ति बुझे । त्यो वेला समाजलाई सूसुचित गर्दै भयानक विद्रोह गर्नुले पिंजडामा रहे सरहका राजा श्री ५ सुरेन्द्र विक्रम शाहलाई र सर्वसाधारण जनताको लागि ठूलो उद्धार हुन सक्दथ्यो । गोर्खा राज्य विस्तारमा शाह वंशका सबैभन्दा नजिक रहेका मगर जाति नै भएको कारणले तत्कालिन राज्य पद्धतिलाई राम्ररी बुझ्न सक्नु लखनको लागि अर्को उर्जा थियो भन्न सकिन्छ । त्यति मात्र होइन शाह वंश राजस्थानबाट गोरखा आई राज्य विस्तार गरेकोले पनि गोर्खाका मगरहरु विधि र प्रकृया नजिक रहेको अनुमान गर्न सकिन्छ । वि.स. १९१४ (सन् १९५७) ताका चलेको भारत स्वतन्त्रता आन्दोलनलाई दबाउन पुरानो गोरखनाथ गणमा सामेलभई भारतको लखनउ पुगेका कारण त्यहाका जनतालाई अत्याचार गरेको, नबाब अलि शाहको दरबारको सम्पति लुटपाट गरेको कुरा देखेका कारण अंग्रेज प्रति र राणा ज्यादती प्रति थापामगर रुष्ट थिए।
जंगबहादुर राणाको शासनको अन्तः गर्नु उनकै अन्तगर्नुपर्ने हुन्थ्यो । त्यसैले तराईमा शिकार खेलेर काठमाडौं फर्कनेक्रममा चन्द्रागिरी भन्ज्यांगमा घात लगाएर जंगबहादुरलाई मार्ने लखन थापामगरको नेतृत्वमा योजना बन्यो । उक्त योजनालाई जासुस टीकादत्त जैसीले जंगबहादुर सम्म पुरयाइ हाले र जंगबहादुरले काठमाडौंबाट देवीदत्त पल्टन पठाई लखन थापा र उनका विद्रोही समुहलाई खत्तम गर्न आदेश दिए । विद्रोही र जंगबहादुरको पक्ष बीच युद्ध भयो र अन्ततः विद्रोही थापामगरका सहयोगीहरुलाई बाँसको पिंजरामा हाली काठमाडौं लगे भने थापामगरलाई गोर्खा जिल्लाको मनकामना मन्दिर अगाडि वि.स. १९३३ फल्गुण २ गते खिर्राको रुखमा झुण्डाई मारे । उनका निकट सहयोगी जयसिं चुमिरानालाई अम्बकको रुखमा झुण्ड्याई मारे । त्यस्तैगरि सुकदेव गुरुग, सुपति गुरुग लगायत ४ जनालाई गोली हानी हत्या गरे । ब्राम्हाण भएकै कारण कालु लम्साल र सन्त ज्ञानदिलदासलाई क्षमा भयो।
रोचक पक्ष के छ भने विद्रोही नेता थापामगर जसमनी संस्कारमा आस्था राख्दथे र दैवीशक्ति भएका थिए । उनलाई मार्ने आदेश लगतै जंगबहादुरका श्रीमतिले थापामगरलाई मारेको खण्डमा त्यसको केहीदिन भित्र जंगबहादुरको पनि मृत्यू हुने सपना देखिन् । उक्त सपना सुनेपछि जंगबहादुरले थापामगरलाई नमार्नु भन्ने पनि आदेश दिएका थिए तर थापामगरलाई झूण्डाई सकेपछि मात्र उक्त आदेश पुग्यो । थापामगरले झुण्डनु अघि आफ्नो शरिर सुकेर गएमा म मरेको छैन भनी सम्झनु र मेरो शरिर कुहिएर झरेमा मरयो भनी सम्झनु भनेका थिए । उनका लास झुण्ड्याइएकै डोरीमा सुकेका थिए । र, उक्त डोरी पछिसम्म दुःखविराम परेकालाई उपचार गर्न प्रयोग गरिन्थ्यो । संयोग भनौ थापामगरलाई झुण्डाई मारेको ठिक हप्तादिन पछि वि.स. १९३३ फागुन ९ गते जंगबहादुरको पनि सेतोबाघको आक्रमणबाट मृत्यू भयो । निरकुंश जहानियाँ राणा शासनका शुरुवातकर्ता जंगबहादुरले लगभग ३० बर्ष शासन गरेका थिए । उनको मृत्यूको सम्बन्धमा र लखनलाई झुण्ड्याइएको स्थानको सम्बन्धमा केही भिन्न मतहरु पनि पाइएका छन् तर लखनको ब्यापक विद्रोहको बारेमा एकमत पाइन्छ।
विद्रोही नेता लखन थापामगरलाई झुण्डाई मारेको १२३ बर्ष पछि वि.स. २०५६ फगुन ११ गते शहिद घोषणा गरियो भने १३९ औं बर्षपछि गत ३ असोज २०७२ का दिन प्रथम शहिद भनी नेपाल सरकारले घोषणा गरयो । शहिदहरु मध्येका पनि पहिलो शहिदको रुपमा राज्यले स्वीकार गरेको छ । उसो त हामीले केही शहिदहरुलाई लामोसमय अगाडि देखि नै आदर्शको रुपमा पनि लिदै आएका छौ । भारतबाट इष्टिइण्डिया कम्पनी हटेपछि इष्टिइण्डियालाई सहयोग गर्ने नेपालका राणा शासनको अन्त्य गराउन भारतमै जयन्तु संस्कृतम आन्दोलनको योजना बन्यो । उक्त योजनालाई सहयोग गर्नेहरु मारिएका तथा दोषी ठहर पछि वि.स. १९९७ ? मा फाँसि चढाइएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल थापालाई हामीले शहिद मान्दै आएका छौं।
कस्तालाई शहिद भन्ने ? देश र जनता प्रति प्रतिबद्ध भई सघर्ष/विद्रोहमा होमिएका र त्यहि सघर्षको मैदानमा सहादत प्राप्त गर्नेलाई नै शहिद मान्ने गरिन्छ तर इतिहासको रोचक पक्ष के हो भने एकैस्थानको २ सयबर्ष अघिको अध्ययन गर्नेहो भने एउटा इतिहास भेटिन्छ । त्यहि स्थानको हजार बर्ष अघिको अध्ययन गर्ने हो भर्ने अर्को इतिहास पाइन्छ । यो इतिहासको महत्वपूर्ण पाटो हो।
कसरी पहिलो शहिद भनेर छुट्टाउने भन्ने एउटा अंहम प्रश्न आउनु स्वभाविक हो तर हाल भोगचलनमा रहेको सत्ता, शक्ति निर्माण संग सम्बन्धित इतिहासका शहिदहरु मध्ये इतिहासमा भेटिएका पुरानो/जेष्ठ शहिद नै पहिलो मान्नु पर्दछ । जसको पर्याप्त भौतिक प्रमाण, समुदायको दावी, समाजको स्वीकृति नै यसका आधार हुनुपर्दछ । प्रमाण, दावी र स्वीकृति भएपनि हाल तत्कालिन सत्ताशक्तिको निरन्तरता वा भोगचलन छैन भने त्यसलाई देशले शहिद मान्न नसक्ने तर सम्बन्धित समुदायले आस्थाको सम्पतिको रुपमा लिन सक्दछ । कथा, श्रुति र धर्मग्रन्थका पात्रहरुलाई पनि शहिद मान्न सकिन्दैन । शहिद एवं प्रथम शहिदको निमित्त आवश्यक सबै कुरा लखन थापामगरको इतिहासमा पाइन्छ । त्यसैले पनि नेपाल सरकार प्रथम शहिद लखन थापामगरलाई घोषणा गर्न बाँध्य बनेको हो । तर बझाङका राजा बलदेव शाह (वि.स. १९०३, गोर्खा राज्य अस्वीकार) तथा तुले रोहनी (३० साउन १८९६ गोर्खा राज्य विरुद्ध) लगायतको चर्चा पाइन्छ तर उनीहरुमा प्रथम शहिदको लागि आधारहरु पाइन्दैन्न । उनीहरुको विद्रोह हाल भोगचलनमा रहेको सत्ता र शक्तिको लागि देखिन्दैन।
अर्को रोचक पक्ष के हो भने संविधानसभाबाट वि.स. २०७२ सालको असोज ३ गते जारी संविधान संगै शहिद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्नुलाई अर्थपूर्ण लिइएको छ । संविधानमा ७ संघीय प्रदेशको खाका पनि समावेश गरिएको छ । उक्त प्रदेशको खाकामा मगर समुदायको मुख्य बस्तिलाई ३ प्रदेशमा पर्नेगरि बाँडिएको छ । यो प्रदेशको खाका कार्यन्वयन भएको खण्डमा मगर समुदाय युगौसम्म पहुचमा पुग्न नसक्ने बनाएको कारण त्यसको क्षतिपूर्तिको रुपमा अर्थात मगर समुदायलाई खुसि बनाउन, संविधानको विरुद्ध उठ्ने विरोधलाई मत्थर बनाउन यो घोषणा गरिएको आशंका गरिएको छ । त्यस्तैगरि मगर महिलालाई सभामुख र उपराष्ट्रपति बनाउनुलाई पनि यहि अर्थमा लिने गरेको पाइन्छ।
लामो समयको खोज, अनुसन्धान र प्राप्त प्रमाणको आधारमा हामीले प्रथम शहिद लखन थापामगर प्राप्त गरेका छौ । वहाले भने झै इष्टइण्डिया (म्लेच्छ) संगको सम्बन्ध नभएको भए, इष्टिइण्डियाबाटै आएको गोर्खाभर्तिको परम्परा नभईदिएको भए सायद अहिलेको नेपालको परिदृष्य अर्कै हुनेथियो । तर, योद्धा नै शहिद बन्नु भएकोले मगर तथा आदिवासी जनजातिहरु अहिले राज्यसत्ताबाट सिमान्तकृतको नियती भोगिरहेका छन् । प्रथम शहिद तथा शहिदहरुको सपना पुरा गर्ने वाचा गर्दै नेपाली जनताहरु अघि बढिरहेका छन् । प्रथम शहिद लखन थापामगरको सम्मानमा पोखरा, बुटवल, पाल्पा, धादिङ र शहादत प्राप्त गरेको स्थानमा शालिक निर्माण भईसकेका छन् । शहादतप्राप्त गरेको ठाँउमा प्रत्येक बर्ष पुष महिनाको पहिलो पंचमीका दिन भयाँर÷लखन्या पूजा गर्ने परम्परा रहेको छ।
अन्तमा, देशको अस्मिता बेच्ने, अंग्रेजको सहयोग र संरक्षणमा राजा तथा जनतामाथि ज्यादती गर्ने जंगबहादुर राणाको विरुद्ध ज्यानको आहूति दिने प्रथम शहिद लखन थापामगरको योगदानलाई उर्जाको रुपमा सम्झन्दै प्रत्येक बर्ष फागुन २ गते वहाको स्मृति दिवस मनाउने प्रचलनलाई अझ ब्यापक बनाऔं । सम्पूर्ण सहिदहरु प्रति सम्मान ब्यक्त गर्दै वहाहरुको सपना पुरा गर्न प्रतिबद्ध होऔ।
[email protected], ५ फेब्रुवरी २०१६, लण्डन, युके
सन्दर्भ सामाग्री
१. बुडामगर, डा. हर्षबहादुर, राष्ट्रका गौरव तथा नेपालका प्रथम शहिद लखन थापामगर (द्धितीय) २०५४
२. आलेमगर, जीवन, नेपालका प्रथम जनविद्रोही सहिद लखन थापामगर २०६४
३. आलेमगर, रुलबहादुर, प्रजातान्त्रिक आन्दोलनका योद्धा प्रथम सहिद लखन थापामगर २०६९
४. हितान, विजय, सच्चा सहिद लखनलाई १३९ बर्षपछि सम्मान, एभरेष्ट साप्ताहिक, २ फेब्रुवरी २०१६
५. लाफामगर, संजोक, १३९ बर्षपछि प्रथम सहिद, नागरिक दैनिक ३० जनवरी २०१६
६. योगी विकासनन्द, भिडियो भाषण, २०१०, https://www.youtube.com/watch?v=O1JwAw28Waw (08 Feb 16)