भन्सार अधिकारीहरूमाथि चक्कु आक्रमण, तीन घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ नोभेम्बर । तौ क्वा वानमा बिहीबार साँझ भएको लागूऔषधविरोधी छापामा तीनजना भन्सार अधिकारी चक्कु प्रहारबाट घाइते भएका छन्। प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको छ।

-

घटना अपराह्न ५ बजेतिर तौ क्वा वान रोडस्थित अनर बिल्डिङको एक फ्ल्याटमा भएको हो। सातजना अधिकारीको टोली छापा मार्न पुगेको थियो। पक्राउ गर्न खोज्दा शङ्कास्पद व्यक्तिले अचानक चक्कु निकालेर आक्रमण गरेको भन्सार शुल्क विभागले जनाएको छ।

घाइतेमध्ये एकजनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुईजना हातखुट्टामा चोट लागेका अधिकारीको अवस्था स्थिर छ। उनीहरूको क्विन एलिजाबेथ अस्पतालमा उपचार भइरहेको छ।

भन्सार आयुक्त चान ची–तातले अस्पताल पुगी घाइते अधिकारीहरूलाई भेटे। पत्रकारसँग कुरा गर्दै उनले भने, “हाम्रा अधिकारी पक्राउ गर्न खोज्दा आक्रमणकारीले चक्कु हानेको हो। हामी यो घटनाको कडा निन्दा गर्छौं। प्रहरीसँग पूर्ण सहकार्य गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउनेछौं।”

उनले थपे, “हाम्रा अधिकारी उच्च जोखिमपूर्ण कारबाहीमा पूर्ण सुसज्जित हुन्छन्। उनीहरू व्यावसायिक, तालिमप्राप्त र यस्ता घटनामा अनुभवी छन्। भविष्यमा आत्मरक्षा र सुरक्षा तालिमलाई थप सशक्त बनाउनेछौं।”

सुरक्षा मन्त्री क्रिस टाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै लेखेका छन्, “कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले अपराधीलाई पक्राउ गर्न भरमग्दुर प्रयास गर्नेछन्।”

प्रहरीले आक्रमणकारीको सीसीटीभी फुटेज र साक्षीहरूको बयानका आधारमा खोजी तीव्र पारेको छ।





Comments

comments

134053