Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

एचकेनेपाल डट कम सम्वाददाता-
कुशे औँसीका दिन आज हिन्दू धर्मावलम्बी वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्।

गोकर्ण औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजै राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १४९ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

वि.सं.१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।





Comments

comments

1108