न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० नोभेम्बर । आज बिहान ७:४१ बजे क्वाई शिङ वेस्ट इस्टेट ब्लक ८ को तल्लो तलामा आगलागी भएको छ। दमकलले आगो नियन्त्रण लिएर ७५ जना बासिन्दाको सुरक्षित उद्धार गरिएको छ।
आगलागी भएको फ्ल्याटबाट १४ वर्षीय बालक र ६ वटा बिराला निकालिएको छ। धुवाँको असर परेका बालक अस्पताल भर्ना भएका छन् भने बिरालाहरू सुरक्षित रहेका छन्।
प्रहरीले बालक घरमा एक्लै छोडिएको पाएपछि ४६ वर्षीया काकी लामलाई बाल उपेक्षा शंकामा पक्राउ गरेको छ।
बुझिएअनुसार काकीले बिहान ७:३० तिर घरको वेदीमा धूप बालेर काममा गएकी थिइन्। धूपको खरानी बिजुलीको तारमा झरेर आगो लागेको प्रारम्भिक अनुमान छ।
बालकले धुवाँ देखेपछि काकीलाई फोन गरेका थिए, काकीले नै आपत्कालीन सेवालाई खबर गरेकी थिइन्। आगलागीको कारणबारे अनुसन्धान जारी छ र कुनै आपराधिक संलग्नता नदेखिएको जनाएको छ।
बुझिएअनुसार बालकका आमा-बुबा मुख्य भूमि चीनमा बस्छन्।


