एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, नाट्यकर्मी कृष्ण शाह यात्रीको लेखन, परिकल्पना एवं निर्देशनमा मौलिक नाटक ‘स्वप्न गीत’ मञ्चन भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शुक्रबार मञ्चन भएको यस नाटकले युवा मनहरुको कथा बोकेको छ। नाटकमा विभिन्न पात्रहरुले सानो छँदा देखेका सपनाहरु कसरी पुरा हुन सक्छ भन्ने कुरा दर्शाइएको छ।
नाटकमा स्कुल पढ्दा एक विद्यार्थी प्रज्ञान नेपालीले एउटै सपना देखेका हुन्छन् – तीस वर्षपछि नेपालको प्रधानमन्त्री बन्ने । तर उसका साथी र घरपरिवारले यस कुरालाई हाँसो र ठट्टाको रुपमा लिएका हुन्छन् । यसैगरी गीत–सङ्गीतमा रुची भएका एक युवा सुगमलाई बाबुले बिजनेस पढेर आफ्नो उद्योग सम्हाल्न जोडबल गर्छ । फेसन डिजाइनिङमा रुची भएकी एक युवती कलालाई उसकी आमाले डाक्टर बनाउन साइन्स पढ्न दबाब दिन्छिन् । फरक–फरक स्वप्न पीडामा बाँचेका पात्रहरुले आफ्नो रुचीका विषय नै कलेजमा पढ्नमा लागि घरपरिवारसँग गरेको संघर्ष नाटकको मूल द्वन्द्व हो । नाटकमा सूत्रधार बनेका गुरुपात्र काव्यमा बोल्छ,
बगिरन्छ अविराम–निरन्तर
समय र सपना उस्तै हुन्
समयले मान्छेलाई डोर्याउँछ
र सपनाले पनि
एउटा निश्चित कालखण्डपछि समय सकिन्छ
अनि स्वप्न गीत बन्छ
र
आरम्भ हुन्छ नयाँ समय”
नाटक ‘स्वप्न गीत’ले अबको नयाँ समयको आवाज र पुस्ताको मनोविज्ञानलाई बुझाउन खोजेको छ । कालान्तरमा नाटककी पात्र कला थापा विश्व–चर्चित फेसन डिजाइनर बन्छिन् । सुगम प्रसिद्ध संगीतकार बन्छ । अनि प्रज्ञान नेपाली मुलुकको ५० औं प्रधानमन्त्री बन्छन् । प्रधानमन्त्री बनेपछि प्रज्ञानले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा भन्छन, “मलाई लाग्छ हरेक बालबालिका र युवाहरुका सपना पुरा हुन सक्छ । त्यस सपनालाई बाबुआमाले विश्वास गरिदिने हो भने । त्यस सपनाहरुलाई बाबुआमाले आफ्ना आँखाले हेरिदिने हो भने।”
स्वैरकल्पनाको समेत प्रयोग भएको नाटक ‘स्वप्न गीत’ मा फरक–फरक दृश्यलाई पृथक प्रकाश परिकल्पनाका माध्यमले देखाइएको छ । नाटक ‘स्वप्न गीत’मा अक्सिडेन्टल पब्लिक स्कुलका सरिना पौडेल, आदर्श लुईटेल, चेतन श्रेष्ठ, हेमकुमार पौडेल, वर्षा चौधरी, विज्ञान सापकोटा, सुप्रिया पौडेल, सिद्धार्थ गौतम, तमन्ना पाठक, सौरभ दाहाल, प्रवेशराज पौडेल, बबिन भट्टराई, दीक्षा खड्का आदिले अभिनय गरेका थिए। निर्देशक यात्री भन्छन्, “प्रथम प्रदर्शनबाट राम्रो प्रतिक्रिय पाएको छु । यसलाई फेरी पनि देखाउने सोच छ।”