कहाँ खर्च भयो दाताको ४० अर्ब ?

काठमाडौं, दातृनिकाय तथा आइएनजिओले आफूखुसी खर्च गर्ने क्रम बढेको छ । गत आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायतामध्ये ३५ प्रतिशत अर्थात् करिब ४० अर्ब रुपैयाँ एनजिओ–आइएनजिओले आफूखुसी खर्च गरेका छन् । अघिल्लो वर्ष विभिन्न दातृनिकायले उपलब्ध गराएको सहायतामध्ये ३० अर्ब यसरी नै खर्च गरेका थिए । दाताको एक खर्ब १३ करोड मध्ये ७० अर्ब बजेट प्रणालीमार्फत खर्च भएको छ।


ऋण बढ्यो, अनुदान घट्यो

अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार दातृनिकायले उपलब्ध गराएको ऋणको अनुपात पनि बढेको छ । गत वर्ष उनीहरूले उपलब्ध गराएको सहायतामध्ये १८ प्रतिशत मात्रै ऋण थियो । यस वर्ष ऋणको अनुपात बढेर २४ प्रतिशत पुगेको छ । यस वर्ष सरकारले २५ करोड डलर ऋण लिएको छ । गत वर्ष कुल सहायताको ६६ प्रतिशत अनुदान प्राप्त भएकोमा यस वर्ष अनुदान घटेर ५८ प्रतिशतमा झरेको छ । सरकारले ५९ करोड डलर अनुदान प्राप्त गरेको छ ।

बहुपक्षीयमा विश्व बैंक द्विपक्षीयमा बेलायत अगाडि

सबैभन्दा धेरै सहयोग गर्ने बहुपक्षीय निकायमा विश्व बैंक समूह छ । उसले नेपालमा १८ करोड ८१ लाख डलर सहयोग गरेको छ । विश्व बैंकपछि एसियाली विकास बैंक दोस्रो स्थानमा छ । उसले १४ करोड ७८ लाख डलर नेपालमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । द्विपक्षीय निकायमा धेरै सहायता उपलब्ध गराउनेमा बेलायत रहेको छ । बेलायतबाट १६ करोड ८० लाख डलर सहायता नेपालमा प्राप्त भएको छ । यस्तै, अमेरिकी विकास कार्यक्रमबाट नेपालमा १३ करोड २३ लाख डलर सहायता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ ।

एनजिओमध्ये सेभ द चिल्ड्रेन अगाडि

नेपालमा कार्यरत झन्डै तीन सय गैरसरकारी संस्थामध्ये सबैभन्दा धेरै रकम सेभ द चिल्ड्रेनले खर्च गरेको छ । उसले दुई करोड ९० लाख डलर खर्च गरेको छ । गैरसरकारी संस्थाहरूले दातृनिकायबाट उपलब्ध रकम विभिन्न क्षेत्रमा खर्च गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका क्षेत्रमा बजेट खर्च गर्दै आएका छन् । दोस्रोमा वल्र्ड भिजन छ । उसले एक करोड २३ लाख डलर नेपालको विभिन्न क्षेत्रमा खर्चंदै आएको छ । गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रममध्ये काठमाडौंमा सबैभन्दा धेरै ३१ वटा छन् । यस्तै, सिन्धुपाल्चोकमा २४, बर्दिया र ललितपुरमा १८–१८ तथा बाँकेमा १७ वटा कार्यक्रम सञ्चालित छन् । गैरसरकारी संस्थाको कार्यक्रम मनाङबाहेक देशका ७४ जिल्लामा सञ्चालित रहेको प्रतिवेदनमा उल्लेख छ ।

मध्यमाञ्चलमा सबैभन्दा धेरै खर्च

गत आर्थिक वर्षमा प्राप्त सहायतामध्ये मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा धेरै खर्च भएको छ । मध्यमाञ्चलमा २६ करोड २४ लाख डलर खर्च भएको उल्लेख छ । यस्तै, पूर्वाञ्चल विकास क्षेत्रमा १२ करोड, मध्यपश्चिमाञ्चलमा १० करोड, सुदूरपश्चिमाञ्चलमा ९६ लाख तथा पश्चिमाञ्चल विकास क्षेत्रमा ९५ लाख डलर खर्च भएको छ ।

स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै सहायता

प्रतिवेदनअनुसार सबैभन्दा धेरै बजेट सहायता स्वास्थ्य क्षेत्रमा आएको छ । स्वास्थ्यमा १७ करोड ७७ लाख अमेरिकी डलर खर्च भएको छ । यो रकम कुल सहायताको १७.४१ प्रतिशत हो । यस्तै, दोस्रो स्थानमा स्थानीय विकास छ । स्थानीय विकासमा १२.२३ प्रतिशत सहायता खर्च भएको छ । गत वर्ष शिक्षा क्षेत्रमा सबैभन्दा धेरै सहायता खर्च भएको थियो । यस वर्ष शिक्षा क्षेत्र तेस्रो स्थानमा छ । शिक्षामा ११.१३ प्रतिशत अर्थात् ११ करोड ३६ लाख डलर खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफद्वारा आफूखुसी दुई अर्ब खर्च

गैरसरकारी संस्था तथा दातृनिकायले बजेट बाहिरबाट ६९ वटा कार्यक्रममा खर्च गरेका छन् । बजेट बाहिरबाट सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रसंघीय बाल कोष (युनिसेफ) छ । युनिसेफले एक करोड ७० लाख डलर अर्थात् करिब दुई अर्ब रुपैयाँ आफूखुसी खर्च गरेको छ । उसका ११ मध्ये पाँचवटा कार्यक्रम बजेट बाहिरका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास साझेदार प्रतिवेदन २०१४/०१५ अनुसार राष्ट्रसंघीय महिला विकास कार्यक्रम (युएन वुमन) ले नेपालमा सञ्चालन गरेका ३० वटै कार्यक्रममा बजेट बाहिरका हुन् । उसले आठ लाख डलर अर्थात १० करोड रुपैयाँभन्दा धेरै यसरी खर्च गरेको छ । नेपालमा नर्वे, डेनमार्क, फिनल्यान्डलगायतका देशबाट प्राप्त सहयोग पनि बजेट बाहिरबाट खर्च भएको छ । राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), जापान अन्तर्राष्ट्रिय सहायता संस्था (जाइका)बाट प्राप्त सहयोग पनि बजेट प्रणालीभन्दा बाहिरबाट नै खर्च भएको खबर नयाँपत्रिका दैनिकले छापेको छ।

किन हुन्छ बजेट बाहिरबाट खर्च ?

बजेट प्रणालीबाट खर्च गर्नुपर्दा गैरसरकारी संस्थाहरू सरकारीसरह कानुनी बन्धनमा बस्नुपर्छ । उनीहरूले गर्ने ठेक्कापट्टा तथा खर्च सबै सरकारी नियमअनुसार नै हुन्छ । तर, बजेट बाहिरबाट खर्च गर्दा उनीहरू आफैँले मनलागे जसरी खर्च गर्न पाउँछन्।





Comments

comments

Leave a Reply

12178