कोलोराडोमा नेपाली जात्रा सम्पन्न, हिरण्य भोजपुरे दम्पत्ती लङमन्ट सिटीद्वारा अभिनन्दित

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्ट सिटीमा आयोजित नेपाली जात्रा सम्पन्न भएको छ । जात्रामा कलाकार तथा समाजसेवीद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई स्थानीय लङमन्ट सिटीद्वारा भब्य समारोहबीच अभिनन्दन गरेको छ।

नेपाली जात्रा स्थानीय लङमन्ट सिटी तथा स्थानीय संघ संस्थाहरूको सहयोग र समन्वयमा लङमन्ट डाउनटाउनमा सम्पन्न भएको हो । सोही समारोहमा नेपाली समाज र नेपाल राष्ट्रकोलागि हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवैले नेपाली गीत, संगीत, कला, साहित्य र समाज सेवाको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै कोलोरडोवासी नेपालीहरुको पहलमा Longmont city का मेयर Joan Peck ले नेपाली ढाकाटोपी, दोसल्ला, पुष्प गुच्छा तथा कदर पत्र प्रदान गरी अभिनन्दन गरेकी हुन्।

हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ दुवै नेपाली गीत, संगीत, कला र साहित्यका बिशिष्ठ प्रतिभा हुन । दुबैले बिगत ६ दशकदेखि नेपाली गीत संगीत , साहित्य र समाज सेवामा अनवरत लागिरहेका छन् । यी दुबै नाता सम्बन्धले श्रीमान श्रीमती पनि हुन्।

स्थानीय सुनन्दा डंगोलको संयोजन तथा कोलोराडोमा क्रियाशील नेवाःखलः लगायत बिभिन्न नेपाली संघ संस्थाहरुको जात्रामा बिशेष प्रस्तुती रहेको थियो । जात्रामा धिमेबाजा, लाखे, कुमारी, लाइभ ब्याण्ड, तथा अन्य बिभिन्न राष्ट्रिय, लोक, नेवारी, शेर्पा गीत तथा संगितमा कुशल नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिनन्दितद्वय हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठले आफूहरूलाई भब्य समारोहबिच अभिनन्दित गरिएकोमा सबैलाई धन्यवाद दिएका थिए । त्यसैगरी सिटीअफ लङमन्टका मियर Joan Peck ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कला संस्कृति र सम्पदाले भरिपूर्ण देश नेपालका, नेपाली समाज र नेपाल राष्ट्रकोलागि अमूल्य योगदान पुर्याएका जोडीलाई अभिनन्दन गर्न पाउदा ज्यादै खुशी लागेको बताइन । त्यसैगरी सोही समारेहमा बोल्डरका मेयर Aaron Brocket र काउन्टी कमिस्नार Marta Loachamin ले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

यहाँका स्थानीयको उल्लेख्य सहभागिता रहको कार्यक्रममा नेपाली खाना, नेपाली पोशाक तथा बिभिन्न सूचनामूलक स्टलहरू राखिएका थिए । दिउसो ३.३० देखि सांझ ७ बजेसम्म आयोजित कार्यक्रम पुष्पा गुरूङले संचालन गरेकी थिइन्। कार्यक्रमको अन्तमा संयोजक सुनन्दा डंगोल प्रवासमा यस्ता कार्यक्रमले हाम्रो परिचयसंगै थोरै भएपनि नेपाली भाषा संस्कृतिको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने बताउदै कार्यक्रम सफल बनाउंन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सके बिश्वमाझ हाम्रो पहिचाहन गराउन सकिन्छ।





Comments

comments

122661