भक्तपुर । प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।
नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो ।
किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।
त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् ।
भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिए ।
इतिहासविद् एवं संस्कृतविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन् । महादेवलाई मन पराउने राक्षसको रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उनको भनाइ छ ।
“आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ”, संस्कृतविद् डा. श्रेष्ठले भने ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउँछन् । भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ ।
राक्षस रूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उनी बताए ।
यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याउछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ ।
घण्टाकर्णको दाहसंस्कार गरी फर्किदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।
आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ ।
शक्तिपीठमा घुइँचो
यसैगरी भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।
नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ । रासस