चिनियाँ रेल ७ दिनमै केरुङ आइपुग्यो, सामान आज नेपाल आइपुग्ने

चीनको गान्सु प्रान्तको लान्चोउबाट नेपालका लागि सामान बोकेर छुटेको रेल सिगात्से आइपुगेको छ । त्यहाँबाट चिनियाँ ट्रक–कन्टेनरमा सामान केरुङतर्फ ओसार्न थालिएको छ ।

हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘नेपाली सामान बोकेको रेल सिगात्से आइपुगेको छ । अहिले धमाधम सामान झार्ने काम भइरहेको छ ।’

सात दिनमै आइपुग्यो
लान्चोउबाट गत बुधबार छुटेको रेलका ४३ डिब्बामा ८६ कार्गो कन्टेनर छन् । दुई हजार चार सय ३१ किलोमिटर दूरी पार गरेर रेल सिगात्से आइपुगेको हो । सिगात्से आइपुग्न करिब १० दिन लाग्ने अनुमान थियो, तर मंगलबार नै सिगात्से पुगेको थियो ।

केरुङमा छुट्टै यार्ड रेलबाट आएको नेपाली सामान राख्न चिनियाँ पक्षले केरुङको गिलोङ पोर्टमा छुट्टै यार्ड बनाएको छ । बुधबार केरुङ गएर फर्केका रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले चारैतिरबाट घेरेर नेपाली सामान राख्न छुट्टै यार्ड राखिएको बताए । उनले भने, ‘त्यो यार्डमा एकपटकमा तीन सय कन्टेनर राख्न सकिने देखिन्छ ।’

१० कन्टेनरमा लोड भए सामान केरुङको गिलोङ पोर्टमा पुगेको सामानमध्ये नेपालका १० कन्टेनरमा लोड भएका छन् । ‘ती सामान चिनियाँ भन्सार जाँचपास भएर भोलि बिहीबार नेपालपट्टि रसुवा प्रवेश गरिसक्छन्,’ भन्सारप्रमुख पनेरूले भने, ‘त्यसपछि हाम्रो भन्सारमा जाँचपास गरिन्छ ।

व्यवसायीले कन्टेनरमा रहेका सामानको मूल्य घोषणा गरेपछि जतिसक्दो चाँडो भन्सार क्लियर गरिदिन्छौँ ।’ चिनियाँ रेलमा व्यवसायीले तयारी लत्ताकपडा, जुत्ता, चप्पल र इलेक्ट्रिक सामान ल्याएका छन् । हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतम भन्छन्, ‘रेलमा घरायसी प्रयोजनका सामग्री धेरै छन्, इलेक्ट्रिक सामान पनि छन् ।’





Comments

comments

Leave a Reply

12527