विश्व रेकर्ड होल्डर हरी बुढा मगर एमबीईलाई युकेका दुई प्रतिष्ठित अवार्ड, भयो सफलता र सम्मानको चर्चा..

फोटो सौजन्य: हरि बुढा मगर र इन्टेक ९९

विश्व रेकर्ड होल्डर आरोही तथा पूर्व गोर्खा सैनिक हरी बुढा मगर एमबीईलाई यो महिना बेलायतका दुई प्रतिष्ठित अवार्ड प्रदान गरियो। उनले ‘सोल्जरिङ अन अवार्ड्स २०२४’ मा ‘प्रेरणा अवार्ड’ र ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’ मा ‘विशेष मान्यता अवार्ड’ विजेता बनेर दुई अवार्ड प्राप्त गरे।

को हुन् हरी बुढा मगर एमबीई?
पश्चिम नेपालको दुर्गम गाउँमा गोठमा जन्मेका हरी बुढा मगर साहस, दृढता र आशाका प्रतीक हुन्। १९ वर्षको उमेरमा ब्रिटिश सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएर उनले पाँच महादेशमा १५ वर्ष सेवा गरे। सन् २०१० मा अफगानिस्तानमा ब्रिटिश सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै गस्तीका क्रममा अचानक विद्रोहीहरूले थापेको विद्युतीय धरापमा (आईईडी) परी विस्फोटमा उनले दुवै खुट्टा गुमाए।

घटनापछि मानसिक तनाव र दुःखका दिनहरू बिताउँदै गर्दा हरीले आफ्नो जीवनलाई पुनर्निर्माण गर्ने निर्णय गरे। उनले काइकिङ, प्याराग्लाइडिङ, स्किइङ, पौडीसहितका चुनौतीहरू सामना गरे। सगरमाथामा मानव पाइला राखेको ७० औं वर्षगाँठ १९ मे २०२३ मा हरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै इतिहास रचे।

यो सफलता प्राप्त गर्नुअघि उनले नेपाल सरकारले लगाएको अपाङ्गता भएका व्यक्तिहरूको आरोहण प्रतिबन्ध हटाउन कानुनी लडाइँ लडे। असमानता विरुद्धको यो कानुनी संघर्षमा विजय प्राप्त गरेपछि, उनले कृत्रिम खुट्टाको डिजाइन निर्माण गरे र आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएर आरोहणका लागि अघि बढे।

पुरस्कार र सम्मान
सोल्जरिङ अन अवार्ड्स २०२४’ अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजना गरिएको थियो। यस समारोहमा हरीलाई ‘विशेष प्रेरणा अवार्ड’ प्रदान गरियो। धेरै प्रतिस्पर्धीहरू मध्ये अन्तिम चरणमा पुगेका ३ फाइनालिष्ट मध्येबाट हरिले यो अवार्ड प्राप्त गरेका हुन्। यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिहरूलाई दिइन्छ जसले कठिनाइहरू पार गरेर अरूलाई प्रेरित गरेका छन्। हरीको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण रहेको थियो।

अक्टोबर २१ को साँझ सम्पन्न ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’ मा हरीलाई ‘विशेष मान्यता अवार्ड’ प्रदान गरियो। यो कार्यक्रम बेलायतका अनाम नायकहरूको सम्मान गर्न आयोजना गरिएको थियो। हरीलाई यो पुरस्कार अपाङ्गता अधिकारको पक्षमा गरेको संघर्ष र शारीरिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न सक्दैन भन्ने कुरा प्रमाणित गरेकोमा प्रदान गरिएको हो।

प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४ कार्यक्रममा २०१० यता युकेका भूतपूर्व प्रधानमन्त्रीहरू, मन्त्री र हालका प्रधानमन्त्री लगायत कलाकार, सेनाका बहालवाला र पूर्व अधिकृतहरूको उपस्थिति रहेको थियो। हरी बुढा मगरलाई इन्टेक ९९ का बहालवाला सेनाका अधिकृत र अवकाशप्राप्त नम्बरीहरूले उपस्थित भएर बधाई दिँदा हरीले खुशीको आँसु पुछ्दै धन्यवाद दिएका थिए। अवार्ड कार्यक्रमको सम्पूर्ण भाग युकेको राष्ट्रिय टेलिभिजन आईटिभी १ बाट २४ अक्टोबर साँझ ८ बजे प्रसारण हुने जानकारी दिइएको छ।

भविष्यको योजना
हरीको यात्रा अपाङ्गताको धारणा परिवर्तन गर्न मात्र नभई, लाखौं व्यक्तिलाई आफ्ना चुनौतीहरू पार गर्न प्रेरित गर्ने उद्देश्यले अघि बढिरहेको छ। उनी सात महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने योजना अनुसार आफ्नो लक्ष्यमा अघि बढिरहेका छन् र £८८४,९०० (सगरमाथाको उचाइमा दुई शून्य थपेर) जुटाएर पूर्वसैनिक र सैन्य परोपकारी संस्थाहरूलाई प्रदान गर्ने लक्ष्यका साथ आर्थिक संकलन पनि जारी राखेका छन्।

हरी बुढा मगर अहिले बेलायतको केन्ट, क्यान्टबरीमा दुई छोरा, एक छोरी र श्रीमतीसहित परिवारसँग बसोबास गर्दै आफ्नो घरजग्गा व्यवसायलाई सफल बनाउन निरन्तर प्रयास गरिरहेका छन्। हरीको यात्रा साहस, दृढता र मानवीय आत्माको शक्तिको प्रमाण हो, जसले अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र होइन, सबैलाई प्रेरणा दिइरहेका छन्।

उनको चर्चित भनाई “मैले आफ्नो चुनौतीको सगरमाथा चढ्न सफल भएँ, तपाईं पनि आफ्नो सगरमाथा चढ्न निरन्तर लागि रहनुहोस्, अवश्य सफल हुनुहुनेछ!” ले धेरैलाई प्रेरित गर्ने काम गर्दै आएको छ।

– भूमिराज राई, मेडवे केन्ट, युके
फोटो सौजन्य: हरि बुढा मगर र इन्टेक ९९





Comments

comments

127203