साहित्यिक प्रतिभाहरूको सम्मानमा त्रिमूर्ति श्रद्धाञ्जली

काठमाडौं, काठमाडौंको त्रिमूर्ति निकेतनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो। यस अवसरमा रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री, त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष श्रीमती इन्दिरा प्रसाई र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थीले महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरे।

समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वहरूले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा प्रमुख कवि कृष्ण बाउसे लगायतका कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे।

रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्य-सचिव नरेन्द्रराज प्रसाईले संयुक्त रूपमा विचार व्यक्त गरे। उनीहरूले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको मार्गमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।

त्रिमूर्ति निकेतनका सदस्य-सचिव नरेन्द्रराज प्रसाईका अनुसार, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानार्थ नई प्रकाशनको संयोजनमा विक्रम संवत् २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो।





Comments

comments

127457