धरहरा सञ्चालनको पहिलो महिनामा ५५ लाख रुपैयाँ आम्दानी..

काठमाडौं । पुनःनिर्माणपछि सर्वसाधारणका लागि सशुल्क खुला गरिएको धरहरा सञ्चालनको पहिलो महिनामा ५५ लाख रुपैयाँ आम्दानी भएको छ ।मङ्सिर ९ गतेदेखि धरहरामा प्रवेश शुल्क लागू गरेर सञ्चालनमा ल्याइएको हो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका कामु निर्देशक प्रकाश अर्यालका अनुसार, सोमबारसम्म ३१ हजारभन्दा बढी नागरिकले धरहरा चढेका छन् । उनले भने, “१२ वर्षमुनिका बालबालिकाको तथ्यांक राखिएको छैन । तर, छोटो समयमा नै नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउँछन् । विदेशी पर्यटकका लागि फरक शुल्क निर्धारण गरिएको छ— सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ र अन्य राष्ट्रका लागि १ हजार रुपैयाँ ।

धरहरा चढ्ने समय बिहान १० ३० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । हरेक बुधबार भने धरहरा सर्वसाधारणका लागि बन्द रहने व्यवस्था छ ।धरहरा परिसर प्रवेशका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने पार्किङका लागि दुई पाङ्ग्रे सवारीलाई प्रतिघण्टा १० रुपैयाँ र चार पाङ्ग्रे सवारीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

धरहरा स्तम्भमा विज्ञापन गर्ने व्यवस्था पनि गरिएको छ । राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ शुल्क लाग्ने छ । प्रकाश अर्यालका अनुसार, पुनःनिर्माणपछि धरहरा छिमेकी मुलुकका पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। रासस





Comments

comments

128411