हङकङमा सर्प वर्षको स्वागत गर्दै चिनियाँ नयाँ वर्ष मनाईयो..

–

पशन तमू –
हङकङ, ३१ जनवरी। हङकङमा सर्प वर्षको स्वागत गर्दै चिनियाँ नयाँ वर्ष मनाईएको छ। बिहीबार राति भिक्टोरिया हार्बरमा आयोजित सन् २०२५ को चिनियाँ नयाँ वर्षको आतिशबाजी प्रदर्शनले स्थानीय र पर्यटक दुवैलाई मन्त्रमुग्ध पार्‍यो।

–

राति ८ बजेबाट सुरु भएको २३ मिनेट लामो यो प्रदर्शनमा तीन वटा बार्जहरूबाट २३,८८८ पटाकाहरू प्रयोग गरिएको थियो। कार्यक्रमको सुरुवात “नयाँ सुरुवात” दृश्यबाट भएको थियो, जसमा भाग्यशाली अंक आठ र सुनको सिक्काको आकारका आतिशबाजीहरू प्रदर्शन गरिएको थियो। त्यसपछि “फुल्दै गएको समृद्धि” दृश्य प्रस्तुत गरिएको थियो।

–

हङकङ पर्यटन बोर्डद्वारा बुधवार राति क्याथे अन्तर्राष्ट्रिय चिनियाँ नयाँ वर्ष परेड धुमधामले सम्पन्न भएकोछ। चिम सा सुईमा सम्पन्न कार्यक्रममा स्थानीय र पर्यटक दुवैको उल्लेखनीय सहभागिता रहेको थियो।

–

परेडमा ९ वटा भव्य फ्लोट र ५५ स्थानीयसहित चीन र अन्तर्राष्ट्रिय प्रदर्शन समूहहरूका २८ प्रस्तुतिहरू समावेश थिए। परेडमा कोरियाली गर्ल ग्रुप केप१एर र थाई ब्वाई ब्यान्ड LYKN को प्रस्तुतीसमेत समावेश थिए।

–

कार्यक्रमको दौरान धेरै स्थानीय र पर्यटकहरूले आफ्ना फोन र क्यामेराहरूमा यी भव्य समारोहका दृश्यहरू कैद गरेका थिए। केही दर्शकहरू राम्रो दृश्य स्थल सुरक्षित गर्न क्यान्टन रोडमा दिउँसो ३ बजेदेखि नै लाइनमा बसेका थिए।

मुख्य कार्यकारी जोन ली

मुख्य कार्यकारी जोन लीले आफ्नो भाषणमा भने- ‘चिनियाँ नयाँ वर्षको स्वागत गर्न हङकङ भन्दा राम्रो ठाउँ अरु कतै छैन।’

यस वर्षको परेड “सौभाग्यको वर्षको उद्घाटन” विषयवस्तुमा आधारित थियो। जसमा ५५ प्रदर्शन समूह र फ्लोटहरूले १४ देश र क्षेत्रहरूसँगै हङकङको विशेष प्रदर्शन थियो।

–

परेड हङकङ सांस्कृतिक केन्द्र पियाजामा राति ८ बजे सुरु भएर क्यान्टन रोड, हाइफोङ रोड र नाथन रोड हुँदै शेराटन हङकङ होटल एण्ड टावर्समा सम्पन्न भएको थियो।

चिनियाँ नयाँ वर्षको तेस्रो दिनको विशेष कार्यक्रमको रुपमा शा टिनमा घोडदौड समावेश छन्।
पशन तमू / एचकेनेपाल डट कम

सबै फोटो : युट्युब स्क्रिनसट




Comments

comments

128959