चैत्र १८ गतेदेखि पोखरा–ल्हासा उडान गर्दै हिमालय एअरलाइन्स

काठमाडौै। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एअरलाइन्सले पहिलो व्यावसायिक उडान शुरू गर्न लागेको छ ।

हिमालय एअरलाइन्सले आउँदो चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ जोड्ने गरी उडान गर्न लागेको हिमालय एअरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न हप्तामा एउटा उडान गर्ने गरी उडान तालिका निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ल्हासा उडानका लागि हिमालय एअरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ ।

त्यसैगरी चीनको सिचुवान एअरलाइन्सले आउँदो चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । उडान शुरू भएसँगै नेपालमा चिनियाँ पर्यटक बढ्ने विश्वास छ । पोखराबाट चीनका विभिन्न गन्तव्यमा सीधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल पुस १७ गते उद्घाटन भएको थियो ।





Comments

comments

129549