सन्तोष थलङ –
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान अन्तर्गत BGNCCC (बीजीएनसीसीसी) – युके/नेपालका प्रतिनिधिहरूले प्रतिनिधि सभामा नागरिकता संशोधन विधेयक दर्ता गराइसकेपछि सर्वसम्मत सांसदहरूको समर्थन जुटाउन सशक्त पहल थालेका छन्।
ब्रिटिश गोर्खाहरुको नागरिकता निरन्तरताको माग के हो? माग दाबीका आधारहरु के हुन्? माग सम्बोधन हुँदा र नहुँदा देश र गोर्खा दुवै पक्षलाई हुने फाइदा र नोक्सानबारे प्रष्ट पार्न निम्न कागजातहरु खामबन्दी गरी दुवै सदनका प्रत्येक सांसदहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो।
संलग्न कागजातहरु:
१. ज्ञापनपत्र
२. वंशजको नागरिकता निरन्तरता हुनुपर्ने औचित्यहरु
३. संशोधन विधेयकको प्रतिलिपि
४. बीजीएनसीसीसीको अवधारणा पत्र
५. ब्रिटिश गोर्खा र परिवारहरुको वंशजको नागरिकता निरन्तरता एवं पुँजी पलायन नामक बुकलेट
यसै सिलसिलामा बीजीएनसीसीसीका प्रमुख सल्लाहकार कृष्णबहादुर राईको नेतृत्वमा अभियानरत प्रतिनिधि मण्डलले गत चैत ११ गते २०८१ का दिन प्रतिनिधिसभाका २७५ जना माननीय सांसदहरूलाई प्रत्यक्ष प्राप्त हुनेगरी उल्लेखित पत्र केही पार्टीहरूका कार्यालयमा र बाँकी सिंहदरबारस्थित सांसदहरूको पिजनहलमा लगाउने कार्य सम्पन्न भएको छ। राष्ट्रिय सभाका ५९ जना माननीय सांसदहरूलाई त्यसअगावै उक्त पत्र हस्तान्तरण गरिसकिएको थियो।
ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको नागरिकता ऐन संशोधन विधेयकलाई पारित गराउन अहोरात्र खटिनु हुने बीजीएनसीसीसीका प्रमुख सल्लाहकार कृष्णबहादुर राई, सह-संयोजक फुर्वा गर्जे शेर्पा, कानूनी सल्लाहकार अधिवक्ता योगिता राई, सल्लाहकार एल. घिसिङ, कानूनी सल्लाहकार संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली साथै पूर्वमन्त्री कृपासुर शेर्पा, रिटायर्ड मेजर प्रेमदोर्जे शेर्पा लगायत अभियानमा जोडिनु हुने सम्पूर्ण महानुभावहरूप्रति ब्रिटिश गोर्खा समुदाय सदा ऋणी रहनेछ।
अन्त्यमा, सम्पूर्ण ब्रिटिश गोर्खा समुदायले यो ऐतिहासिक एवं महत्वपूर्ण अभियानलाई गम्भीरताका साथ बुझेर साथ सहयोग गर्न जरुरी छ। कसैको अनर्गल होहल्लामा निहित स्वार्थमा बहकिएर आफ्नो र आफ्ना भावी सन्ततिहरूको नेपाली राष्ट्रियता गुमाउने गल्ती कसैबाट नहोस्।
जय गोर्खा!!!