हङकङ आगलागीमा मारिएका ५ मजदुरका अन्तिम क्षणका भिडियो सार्वजनिक

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ डिसेम्बर । हङकङको ताइपोस्थित वाङ फुक कोर्टमा गत बुधवार भएको भीषण आगलागीमा ज्यान गुमाएका ५ जना सजावट मजदुरका अन्तिम पलका दुईवटा भिडियो सार्वजनिक भएका छन्। ती भिडियो एकजना महिला मजदुरले मृत्यु हुनुअघि खिचेकी थिइन्।

-

३१औँ तलामा काम गरिरहेकी लाउ थर भएकी ती महिला मजदुरले खिचेका २ सेकेन्ड र ६ सेकेन्ड लामा दुई क्लिपमा कालो धुवाँ झ्यालबाट कोरिडोरभित्र पसिरहेको र मजदुरहरूले खतरा महसुस गरेको देखिन्छ। लामो भिडियोमा एकजना महिलाको आत्तिएको स्वरमा “साँच्चै आगो लाग्यो ! चाँडो बाहिर निस्कौ !” भन्ने आवाज सुनिन्छ भने एकजना पुरुषले “केही चाहिँदैन” भन्दै जवाफ फर्काएका छन्।

यी भिडियो लाउले आफ्नो छोरालाई पठाएकी थिइन्, जुन उनको अन्तिम सन्देश बनेको थियो।

आगलागीमा परी ज्यान गुमाउने पाँचैजना मजदुर (दुई पुरुष र तीन महिला, उमेर ४६ देखि ७५ वर्षसम्म) १०औँ तलाको बाहिरी पर्खालमा मोजेक टायल जोड्ने काम गरिरहेका थिए। आगो उनीहरूको काम गर्ने ठाउँसम्म पुग्दा सुरक्षा जालमा आगो सल्कियो। आगो निभाउने असफल प्रयासपछि उनीहरू भित्र पसे पनि बाक्लो धुवाँ र आगोका कारण फसेर अन्ततः ज्यान गुमाए।

यो पाँच अलार्मको भीषण आगलागीमा कम्तीमा १५९ जनाको मृत्यु भएको पुष्टि भएको छ।





Comments

comments

134482