लन्डनमा ‘भिमसेन थापा’ नाटक एक चर्चा..!

कोमलप्रसाद श्रेष्ठ मल्ल –
गत हप्ता ह्यारो लन्डनस्थित फुटबल क्लबको हलमा सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक “भिमसेन थापा” मञ्चन भयो। नाटकका प्रमुख पात्र भिमसेन थापाको भूमिकामा सनम वैराग देखिए, जसले दर्शकको मन जित्न सफल भए। हुनत सनम वैराग नेपाली कला जगतका पुराना पोख्त कलाकार हुन्। उनको अभिनय उत्कृष्ट नहुने कुरै भएन। प्रष्टरूपले भन्नु पर्दा रङ्गमञ्चदेखि चलचित्रसम्म उनको अभिनय र निर्देशन निकै प्रशंसनीय र अनुभवले खारिएको छ।

कलाकारितामा नेपालमा रहँदा मात्र नभएर बेलायतमा आएर पनि कलाकार सनम बैरागले कला क्षेत्रलाई आफ्नो जीवनको अभिन्न अङ्गको रूपमा अँगालेका छन्। उनी जति अभिनयमा पोख्त छन् उत्तिकै निर्देशनमा पनि कुशल शिल्पी रहेका छन्। बेलायतमा मात्रै पनि थुप्रै नाटक र चलचित्रहरूमा निर्देशन र अभिनय गरेका छन्। जसमध्ये नेपाली साहित्य विकास परिषद् युकेको आयोजनामा दुईवटा नाटकहरू लन्डनमा मञ्चन भएका छन्। यसअघि परिषद्द्वारा नेपाली राजदूतावास लन्डनमा आयोजित आदिकवि भानुभक्त आचार्यको द्विशताब्दी जन्मजयन्तीका अवसरमा “आदिकवि भानुभक्त नाटक” मञ्चन गरिएको थियो। त्यसबेला पनि सनम बैरागले भानुभक्तको भूमिकामा र कोमल मल्लले मोतिराम भट्टको अभिनयमा दर्शकहरूको मन जित्न सफल भएका थिए। वृत्तचित्र र अभिनयको मिश्रण रहेको उक्त प्रस्तुति अभिनय र निर्देशन दुवै दृष्टिकोणले सनम बैरागको प्रस्तुति उत्कृष्ट रहेको थियो र निकै चर्चा-परिचर्चामा रह्यो।

यसपाली पनि नेपाली साहित्य विकास परिषद् युकेको आयोजनामा “भिमसेन थापा” नाटक लन्डनमा मञ्चन गरियो। यस नाटकमा पनि नाटकका प्रमुख पात्र भिमसेन थापाको भूमिकामा रहेका कलाकार सनम बैरागले आफ्नो उत्कृष्ट अभिनयले दर्शकहरूको मन जित्न सफल रहे भने निर्देशनमा पनि सदाझैँ आफ्नो कुशलता उतार्न सफल रहे। साथमा भक्ति थापाको भूमिकामा समान्त तामाङको भूमिका प्रशंसनीय रह्यो। सूत्रधारको भूमिकामा सुरेश श्रेष्ठको प्रस्तुति पनि प्रशंसनीय रह्यो।

यसैगरी नेपाली साहित्य विकास परिषद् युकेका पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपाली, डा. दुबसु क्षेत्री, ज्ञानेन्द्र राउत तथा दुर्गा गुरुङले नेपथ्यबाट गरेको संवाद प्रवाह मञ्चमा कलाकारको अभिनयमा प्रभावकारी रह्यो। यसैगरी पार्श्व गीत गायनमा सपन कुमार राईले, सङ्गीत संयोजन तारा प्रकाश लिम्बूले गरेका छन् भने नृत्य संयोजन कोरियोग्राफर चरण प्रधानले गरेका छन्। समग्रमा भन्नु पर्दा यसपालि पनि “भिमसेन थापा” नाटकले दर्शकहरूको मन जित्न सफल रह्यो र चर्चामा कलाकार सनम बैराग फेरि मौलाए।

भिमसेन थापा नाटक भन्नेबित्तिकै यसभित्र के विषयवस्तु रहेको होला भन्ने जानकारी र अनुभूति पाठकवर्गमा सहजै भइसकेको हुन्छ। तैपनि नाटकमा अभिनयको यति चर्चा भइसकेपछि नाटकभित्र प्रस्तुत विषयवस्तुहरूले भिमसेन थापाका योगदान, उदय र अन्त्यलाई मञ्चमा कसरी उतारेका छन् भन्ने प्रसङ्ग नै प्रमुख हुन आउँछ।

कलाकार तथा निर्देशक सनम बैराग यो नाटक उतार्न सफल रहेका छन्। नेपालको इतिहासमा आफ्नो एक छुट्टै इतिहास स्थापित गर्न सफल राष्ट्रिय गौरवी नायक, कुशल प्रशासक, दूरदर्शी मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापाको उदय र अन्त्यको ऐतिहासिक विषयवस्तुलाई लिएर युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित नाटक “भिमसेन थापा” पुस्तकभित्रको कथाको विषयवस्तु लिएर कलाकार तथा निर्देशक सनम बैरागले नाटकलाई मनोरञ्जनपूर्ण र मर्मस्पर्शी रूपले मञ्चमा उतारेका छन्।

यसअघि ‘कैदीको पत्र’ चलचित्र निर्देशन गर्नुका साथै बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ जस्ता नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेका छन्।राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वीनारायण शाहद्वारा एकीकृत गरिएको नयाँ नेपाललाई सबल बनाउन र एकीकृत नेपाललाई बलियो रूपले बचाएर राख्न मुख्तियार भीमसेन थापाको योगदान जत्तिको महत्त्वपूर्ण छ त्यत्तिकै नेपालको आधुनिकीकरण गर्नमा पनि गहन र महत्त्वपूर्ण रहेको छ। नेपालको राजपाटमा सन् १८०६ देखि १८३७ सम्म तीन दशक मुख्तियार अर्थात् प्रधानमन्त्री भएर मुख्यतया बेलायती साम्राज्य विस्तारबाट नेपाल राज्यलाई बचाएर राखे। यो योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले हरेक नेपालीको मुटुमा कुँदिएको छ।

यस्तै देशभित्र प्रशासनिक सुधार गरे। विकास निर्माण र व्यापार व्यवसाय प्रबन्धमा पनि कुशल नेतृत्व गरे। यी सबै पृष्ठभूमिभित्र “भिमसेन थापा” नाटकले जस्तोसुकै कठिन अवस्थामा पनि सम्पूर्ण नेपालीको मनोबल उच्च राख्दै असीम साहस बोकेर भिमसेन थापाले डटेर सामना गरेको परिदृश्य, उनको दूरदर्शिता, स्वाभिमान, राष्ट्रभक्ति र कुशल प्रशासनिक एवम् राजनीतिक र कूटनीतिक नेतृत्व आदि विषयवस्तु नै नाटकले अभिनयमा कुशलरूपले उतारेको छ। वीरता र वियोगान्त रसको समिश्रण रहेको यस नाटकमा राजनीतिक दाउपेच र षड्यन्त्रका कारण राष्ट्रका गौरवी पुरुष भिमसेन थापाको दर्दनाक दुःखद अन्त्य पनि नाटकमा कलाकार तथा निर्देशक सनम बैरागले आफ्नो अभिनय र निर्देशनमा बडो मार्मिक रूपले उतारेका छन्।

नाटक मञ्चनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद् युकेका प्रमुख वरिष्ठ सल्लाहकार एवम् यस संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबिई र परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले आरम्भमा नै दिएको शुभकामना नाटकले प्रशंसामा परिणत गर्न सफल भयो। यस अर्थमा पनि कलाकार एवम् निर्देशक सनम बैरागलाई थप बधाईज्ञापन यहीँ नै प्रकट गर्दछु।

नाटक मञ्चन बेलायतका अन्य सहरहरू – रिडिङ, वुलविच, अल्डरसट, स्कटल्यान्ड र नेपालमा पनि हुने तयारी गरिरहेको छ।
-कोमलप्रसाद श्रेष्ठ मल्ल
अध्यक्ष
नेपाली साहित्य विकास परिषद् यूके
स्थापित १९९५ (वि.सं. २०६१), लन्डन





Comments

comments

131039