Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक वीरेन्द्र श्रेष्ठ प्रवासतिर रुमलिदा (भिडियोसहित)

नव गायक वीरेन्द्र श्रेष्ठको एकल एल्वम ‘विचार’ काठमाडौंमा विशेष समारोहका साथ विमोचन गर्दै “आफू रोएर भए पनि मलाई हसाउने साथी छिन् मेरी” बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन्।

गायक श्रेष्ठ पाँचथर सरांग डाँडामा जन्मिए पनि वि.स.२०५१ सालमा झापा झरेका हुन्। गायक बीरेन्द्रका बुवा आमा, एक छोरी अन्वेशा र जीवनसाथी सरिता श्रेष्ठ झापा सतासिधाम १ डुंडामारी चोकमा बसोबास गर्दै आईरहेका छन्। सानै उमेरदेखि गीत संगीतप्रति रुचि राख्ने वीरेन्द्रले प्रवेशिका परिक्षा स्थानीय माध्यमिक विद्यालयबाट पहिलो श्रेणीमा उतीर्ण गरेका थिए । त्रिभुवन विश्वविध्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठले झापा दमकबाट संगीतका आधारभूत अध्ययन पश्चात क्रियासिल रुपमा गीत संगीतको साधना काठमाडौंबाट नियमितता दिएका थिए।

“विदेश जाने रहर कसलाई पो हुन्छ र तर विवशताको अगाडि मायाको हार हुदो रहेछ” । गायक बीरेन्द्र श्रेष्ठ स्नातकोत्तरको अध्यन प्रश्चात प्रवासीभूमि दोहा कतार तिर लागे । उनका दाजु गायक चन्द्र श्रेष्ठको प्रेरणाबाट गीत संगीतप्रति रुचि बढेको बताउँने वीरेन्द्र प्रवासी भूमिमा रहेपनि नेपाली गीत संगीतको साधना गरिरहे । कामकै सिलसिलामा “ढुङ्गा खोज्दा देउता मिल्यो” भनेझै उनले संगीतका गुरु गौरब दर्पण भेटेपछि उत्साहका साथ गीत संगीत क्षेत्रमा केहि गर्नुपर्छ भन्ने अभिलाषाका साथ श्रेष्ठले गैरआवसीय नेपाली संघ एनआरएन दोहा कतारमा नेपाली तारा २०१३ को उपाधि चुम्दै आफ्नो सांगीतिक यात्रालाई अघि बढाई रहेका छन्।

नवोदित गायक वीरेन्द्र श्रेष्ठसंग एचकेनेपाल डट कमका लागि बेलायतबाट पत्रकार रोशन मेवाहाङले गरेको संक्षिप्त कुराकानी ।


पहिलो पल्ट एनआरएन नेपाली ताराको उपाधि जित्दा कस्तो अनुभव गर्नुभयो ?

यति धेरै खुशी भए कि म वर्णन गर्न नै सक्तिन । एउटा सामान्य सोच बोकेर परदेश हिडेको व्यक्तिले यस्तो उपाधि नै जित्छु भन्ने सोचेको थिईन । परिश्रमको फल मिठो हुन्छ भनेको सायद यहि होला । कम्पनीको समयबाट बचेको समयलाई सदुपयोग गर्दै नेपाली सांगीतिक धरातलमा एउटा सानो इटा थप्ने सोचले गर्दा नै आज यो सफलता पाउन सके जस्तो लाग्छ ।


गीत संगीत नै किन रोज्नु भयो ? के गीत संगीतबाट जीवन चलाउन सकिएला ?

गीत संगीत बाहेक मेरो मनमा अरु कुनै चिज नै थिएन । गाउँघरमा सानैबाट साथिभाईहरुले मेरो स्वरको प्रशंसा गरेकोले पनि ममा एउटा आत्मबलको विकाश हुदै गईरहेको थियो । तर पनि नारायण गोपाल, गोपाल योन्जन, अम्बर गुरुङ जस्ताका स्वरहरुबाट प्रभावित बनेर नै यो क्षेत्रमा लागें । जीवन कसरी चलाउने भन्ने बारेमा त सोचेकै थिईन । जव जीवनलाई आफैले डोर्याउने दिन आयो तब महशुस भयो कि बालापनमा गाएको जस्तो होईन रहेछ संगीत । जीवन चलाउनलाई संगीतले मात्र सबैको जीवनमा लागू नहुन सक्छ ।

एल्वम पनि निकालि सक्नु भएछ ?श्रोता तथा दर्शकहरुबाट कस्ता कस्ता प्रतिक्रिया पाईरहनु भएको छ ?

सोचे भन्दा धेरै राम्रो प्रतिक्रियाहरु पाईरहेको छु । एल्वम भित्र रहेको ‘आफू रोएर भए पनि मलाई हसाउने साथी छिन् मेरी’ बोलको म्युजिक भिडियोको युट्युव दर्शकहरुको संख्या पनि करिब २ लाख पुगिसकेका छन् । श्रोता दर्शकहरुको माया र प्रोत्साहनले नै गीत संगीतमा लागिरहने प्रेरणा मिलिरहेको छ ।

‘विचार’ एल्वमलाई ‘विचार’ नामकरण गर्नका कारण के होला ?अरु नाम पनि थिए होला नि ?

अरु पनि नामहरु थिए तर एल्वमको शीर्ष गीत नै विचारमा विचार मिलाउ भन्ने बोलको गीतका कारण एल्वमको नामकरण विचार राख्ने निर्णय गरिएको हो । समय सापेक्षित पनि विचार नै जुर्न गयो । सवै नेपालीहरु माँझ विचार मिल्न सक्ने, भावनाले मन छुन सकिने, नयाँ पुस्ताहरुको विचारलाई कदर गर्न सकिने जस्ता शव्द रचनाहरु समावेश गरेका छौ । संगीतकार गौरब दर्पणको शव्द रचना ‘विचारमा विचार मिलाउ’ बोलको गीतले एल्वमको प्रतिनिधित्व गर्ला जस्तो देखिए पछि ‘विचार’ एल्वमको नामकरण गरिएको हो ।

एल्वम भित्र कस्ता कस्ता गीतहरु समेट्नु भएको छ ?

एल्बम “विचार” भित्र ६ वटा गीतहरु समावेश गरिएको छ । एल्वमको पहिलो शीर्ष गीत ‘विचारमा विचार मिलाउ’ भन्ने गीत रहेको छ । जस्ले राष्ट्रका लागि मिठो सन्देश पुर्याउने आशा राखेका छौ । नेपाल विगत १५ बर्षदेखि दन्द्वमा होमिरहेको अवश्था छ । अझैपनि त्यो दन्द्व र अराजक राजनीतिक अस्थिरतामा यो एउटा गीतले केहि हदसम्म सहानुभूति र सहयोग गर्न सक्ला भन्ने आशा राखेका छौ । हामी हरेक नेपाली विचारमा विचार मिलाएर अगाडि बढ्न सुरु गरौ भन्ने नारा पनि हो । हतियारमा हतियार मिलाएर कहिले पनि देशका लागि उन्नति र प्रगति गर्न सक्दैनौ । हामीले हाम्रो विचारमा विचार मिलाएर, सोचमा सोच र काँधमा काँध मिलाउन सकियो भने मात्र देश र समाजलाई अगाडि बढाउन सक्छौ भन्ने मनसायले यो एल्वम तयार गरेका हौ । त्यस्तै दोश्रो गीत ‘आफू रोएपनि मलाई हसाउने साथी छिन्’ गीतकार भावना पाठकको शव्द रचनालाई अर्जुन पोख्रेलले कर्णप्रिय संगीत भरेका छन् । यो गीत एउटा स्वतन्त्र प्रेमसम्बन्धको विम्ब पनि हो ।

एल्वमभित्र अरु गीतहरु कस्ता रहेका छन् ?

आफ्ना सिर्जनाहरु सवै राम्रै लाग्छ । जस्मा एउटा गीत सच्चा प्रेम प्रतिकको रुपमा व्यक्त गरिएको “रातै भरि” र “आकाश खस्यो भने तिमी” गीतकार आनन्द श्रेष्ठ र सानिध्यको रचनालाई गौरब दर्पणले संगीत भरेका छन् । उक्त रचनालाई रजिना रिमालले साथ दिएकी छिन् । अर्को त्रिकोणात्मक प्रेम प्रस्ताबमा आधारित मार्मिक गीत “नो चान्स” लाई गीतकार तथा संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् जसलाई गायिका मिलन अमात्य र मैले मिठो आवाज दिएका छौ ।

सवैभन्दा बढि समय र गाह्रो कुन गीतमा लागेको थियो ?

जीवनको पहिलो गीत आनन्द श्रेष्ठको शव्द रचना ‘रातैभरी रोई रहयो’ संगम रेकडिङ्ग काठमाडौंमा गर्दा धेरै समय र गाह्रो लागेको थियो । सायद पहिलो पल्ट टेक्निकल ज्ञान नभएर पनि हो । जुन शव्द रचनाले मलाई अति नै भावुक बनाएको थियो ।

कस्ता कस्ता गीतहरु बढि मन पराउनु हुन्छ ?तपाईको पहिलो म्युजिक भिडियोमा कस्ले अभिनय गरेका छन् ?

फिल्मी गीत, रोमान्टिक दर्शकहरुलाई उर्फार्ने गीतहरु प्राय मन पर्छ । उदित नारायण झाले गाएका गीतहरु बढी मन पर्छ । एल्वमका ‘आफू रोएर भए पनि मलाई हसाउने साथी छिन् मेरी’ बोलको म्युजिक भिडियोलाई समन अधिकारीको निर्देशनमा नायिका शिल्पा पोख्रेल र पल शाहले लिडरोलमा फरक प्रकारको अभिनय गरेका छन् ।

हाल के गर्दै हुनुहुन्छ ?सांगीतिक कार्यक्रमका लागि विदेश जाने योजना के छ ?

हाल म आफै बैदेशिक रोजगारीमा दोहा कतारमा छु । यहाँ हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा सरिक भईरहन्छु । साथै नेपाली कलाकेन्द्र कतारमा संगीत सिक्ने र सिकाउने पनि गरिरहेकोछु । समयले साथ दिए देश विदेश रहनु भएका दर्शक श्रोताहरु माँझ प्रस्तुत हुने रहर पनि छ । हेरौ यहाँहरुको माया र सदभाव पाईरहे त्यो दिन पनि अवश्य आउने छ ।

अन्त्यमा नेपाली श्रोता तथा दर्शकहरुलाई के भन्न चाहानु हुन्छ ?

परदेश जानु सबै नेपालीहरुको बाध्यता बनिरहेको छ । प्रवासमै रहेपनि आफ्ना कला,साहित्य, भाषा र संस्कृतिको जगेर्ना गरौ । नेपाली गीत संगीतलाई माया गरिदिनु होस् । हामीले विदेशमा रहदा सिकेका ज्ञान सिपहरुलाई स्वदेशमा फर्केपछि प्रयोग गरौ र देश विकासप्रति आत्मानिर्रभर बनौ ।





Comments

comments

Leave a Reply

13121