काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएका लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङले ऐतिहासिक जित हासिल गरेका छन् । सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै उनी विजयी भएका हुन्।
मतगणनाको अन्तिम नतिजा अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी किमले ४२.९ प्रतिशत मत पाएका छन्। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योललाई महाभियोग लगाएर पदमुक्त गरिएपछि गरिएको थियो।
विजयी भएपछि लीले देशलाई एकताबद्ध गर्ने, अर्थतन्त्र सुधार्ने र उत्तर कोरियासँग शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदाताप्रति आभार व्यक्त गर्दै यो जिम्मेवारी कहिल्यै नबिर्सने बताए।
यस पटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरेका छन्, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च सहभागिता हो।
एजेन्सीहरूको सहयोगमा