रौतहट, जनकपुरधाम । रौतहटको गौर–सिरसिया सडकखण्डमा बेवारिसे अवस्थामा फेला परेको सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।
मृतक रौतहटको माधव नारायण नगरपालिका–२, माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए।
डीएसपी कार्कीका अनुसार, मृतक रुवीको घर भारतको मुजफ्फरपुरमा छ। उनी एक महिनादेखि गौर नगरपालिका–२, महादेवपट्टीमा डेरा लिएर बस्दै आएकी थिइन्। उनको चार वर्षीय छोरा पनि उनकै साथमा थिए। प्रारम्भिक अनुसन्धानमा उनको हत्या गरेर शव सुटकेसमा राखेर फालिएको हुन सक्ने प्रहरीको आशंका छ।
शनिबार राति साढे १० बजेतिर गौर नगरपालिका–९, मुडवालगेट नजिकै सडकमा बेवारिसे सुटकेस फेला परेको थियो। शंकास्पद लागेपछि प्रहरीले रातभर सुटकेसको निगरानी गरेको थियो। आइतबार बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा रुवीकुमारीको शव फेला परेको हो। शवलाई कुईनो र घुँडा जोडेर सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
डीएसपी कार्कीले भने, “प्रारम्भिक अनुसन्धानमा मृतक रुवीकुमारी साह रहेको पुष्टि भएको छ। उनको नाकबाट रगत बगेको देखिए पनि शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन।” मृतकका आफन्त र श्रीमान् भारतबाट नेपाल आएर प्रहरीको सम्पर्कमा छन्।
रुवीले भारतको मुजफ्फरपुरमा विवाह गरेकी थिइन्, तर आफ्ना छोरालाई पढाउन गौर नगरपालिका–२ मा डेरा लिएर बस्दै आएकी थिइन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।