काठमाडौं । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखा कसम ब्रिगेडले बन्धक ४७ जनाको तस्बिरसहित ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ।
यसमा नेपाली विद्यार्थी विपीन जोशीको अनुहार पनि छ। इजरायली सेनाको सैन्य कारबाही तीव्र हुँदा शनिबार जारी यो पोस्टरमा जीवित र मृत बन्धकहरूको तस्बिरमुनि लेबनानबाट बेपत्ता इजरायली पाइलट रोन अरादको नाम लेखिएको छ।
हमासले यसबाट इजरायललाई चेतावनी दिँदै भनेको छ– नेतान्याहुको अस्वीकार र जमिरको आत्मसमर्पणका कारण गाजामा कारबाही सुरु हुँदाको यो बिदाइ तस्बिर हो। यसले बन्धकहरूको सम्भावित नियति रोन अरादजस्तै रहस्यमय हुने मनोवैज्ञानिक दबाब दिएको छ।
विपीनको अवस्था
कृषि पढ्न इजरायल पुगेका विपीनलाई २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको थियो। तस्बिरमा उनको उपस्थितिले जीवित रहेको संकेत गर्छ, तर चेतावनीले सुरक्षामाथि खतरा औंल्याएको छ।
नेपाल सरकारले कूटनीतिक प्रयास गरिरहँदा इजरायलमा बन्धक रिहाइको मागमा हजारौं प्रदर्शनकारी सडकमा छन्।
इजरायली तथ्यांकअनुसार, २५१ मध्ये ४७ बन्धक बाँकी छन्, जसमध्ये २५ को मृत्यु भइसकेको छ। (एएफपी, अल्जरजिरा र टाइम्स अफ इजरायलको सहयोगमा)