न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ अक्टोबर । हङकङको ताइ पोमा सोमबार भएको कार दुर्घटनामा ज्यान गुमाएका दुई महिलामध्ये एक घरेलु कामदार र उनकी मालिक भएको खुलेको छ।
स्थानीय मिडियाका अनुसार ३७ वर्षीया मृतक इन्डोनेसियाली घरेलु कामदार रहेकी छन्। उनलाई ८८ वर्षीया स्थानीय महिलाले रोजगारी दिएकी थिइन्। ती वृद्धा पनि सोही दुर्घटनामा मृत्यु भएको छ।
यो दुर्घटनामा ७१ वर्षीया अर्का एक पैदलयात्री पनि घाइते भएकी छिन्, जसको दायाँ गालामा चोट लागेको छ।
सोमबार ताइ पोको पो हेउङ लेनमा एक ६० वर्षीय निजी कार चालकले चलाएको कार रोकी राखेको एक भ्यानमा ठक्कर दिंदा उक्त घटना भएको थियो। प्रहरीले चालकलाई पक्राउ गरेको छ।
यो घटना ताइ पो कम्प्लेक्स पछाडिको राउन्डअबाउटमा भएको हो, जहाँ भुइँ र पहिलो तलामा एक वेट मार्केट रहेको छ।
यो क्षेत्र चालकहरूले यात्रुहरूलाई किनमेलका लागि ओसारपसार गर्न लोकप्रिय मानिन्छ।
स्थानीयवासीहरूले मङ्गलबार बिहान दुर्घटनास्थल नजिकैको फोहोर सङ्कलन केन्द्र बाहिर भेला भई मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। एक स्थानीयले वृद्धालाई दशकौंदेखि चिन्दै आएको र सडक पार गर्ने क्रममा भएको यो त्रासदीले आफूलाई रातभर निद्रा नलागेको बताए। अर्का स्थानीयले फूल लिएर श्रद्धाञ्जलि व्यक्त गरे, यद्यपि उनले मृतकहरूलाई व्यक्तिगतरूपमा चिनेका थिएनन्।


