न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ अक्टोबर । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनले १३ वर्षीया एक बालिकाको गम्भीर इन्फ्लुएन्जा बी सङ्क्रमणका कारण मृत्यु भएको आइतबार जानकारी दिएको छ। यो वर्षको यो पहिलो बालबालिकासम्बन्धी घातक घटना हो।
उनलाई गत बिहीबार घरमा बेहोस भएपछि अस्पताल लगिएको थियो। त्यसअघि उनलाई ज्वरो, खोकी, घाँटी दुख्ने र सिंगान बग्ने लक्षण देखिएको थियो।
सेन्टरले भनेको छ, “१३ वर्षीया बिरामीको अवस्था बिग्रियो र दुर्भाग्यवश उनको मृत्यु भयो।”
उक्त केन्द्रले थप बतायो, “यो गत वर्षको जुन महिनायता हङकङमा बालबालिकामा इन्फ्लुएन्जा सङ्क्रमणबाट भएको पहिलो मृत्यु हो। हङकङ हाल ग्रीष्मकालीन इन्फ्लुएन्जा सिजनमा छ र सेप्टेम्बरदेखि स्कूलहरूमा इन्फ्लुएन्जाजन्य रोगका प्रकोपहरूमा उल्लेखनीय वृद्धि भएको छ।”
सेन्टरले विद्यार्थीहरूलाई सरकारको निःशुल्क मौसमी फ्लू खोप कार्यक्रममा सहभागी हुनु महत्त्वपूर्ण रहेको जोड दिएको छ।
फ्लू खोप फ्लू रोकथामको सबैभन्दा प्रभावकारी तरिका मध्ये एक हो र यसले मृत्युको जोखिमलाई कम गर्छ, सेन्टरले भनेको छ। – पशन तमू । हङकङ