भक्तपुर । मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन थालेपछि तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएको छ । फूलखेती हुने भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानले व्यापारी घरमै आउन थालेपछि राम्रो मूल्य पाएका छन्।
आइतबारदेखि तिहार सुरु हुँदैछ । शनिबारदेखि तिहारको धनतेरस सुरु भएपछि बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारको सङ्घारमा फूल र मालाको मूल्यवृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन्।
व्यापारी बजारमा एउटा मखमलीको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानले शुक्रबारसम्म मखमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा बिक्री गरेकामा शनिबारदेखि किसानले प्रतिमाला रु ३० देखि ३५ मा बिक्री गरिरहेका छन्।
गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले शनिबारदेखि किसानसँग आफूले मखमली फूलको प्रतिमाला रु ३० दखि रु ३५ मा किनेको बताए।
सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण–९ ताथलीका वनमालाले पनि मखमलीको प्रतिमाला रु ३० मा बिक्री गरेको बताए।
भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता फूल तथा माला बिक्री गर्दै आएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताइन् । व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाट फूलमाला उठाउन थालेको उनको भनाइ छ।
स्थानीय उर्मिला नगरकोटी यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताउँछिन् । उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ।
स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाखको आम्दानी गरेको बताइन् । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उनले बताइन्।
सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ । हाल एक ढ्वाङको मूल्य रु सात सयसम्ममा बिक्री भइरहेको छ । यहाँबाट एकै घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन्।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला ७० रुपैयाँमा बिक्री गरेको बताउँछन्।
यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । उनले टनेलबाहिर खुला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताए । व्यापारीले सयपत्री फूलको माला भने लम्बाइको साइजअनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको उनी बताउँछन्। रासस