काठमाडाैँ । टर्कीको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
यस्तै ६ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार उक्त दुर्घटना शनिबार साँझ शहरको युरोपेली भागमा पर्ने एसनयुर्त जिल्लामा भएको हो।
इस्तानबुल गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भारी वर्षा भइरहेको समयमा सडक अत्यन्तै चिप्लो भएका कारण एक मिडिबस चालकको नियन्त्रण बाहिर गई सडक छेउको खाली जग्गामा पल्टिएको थियो । दुर्घटनाको प्रभाव निकै ठूलो रहेकाले बसमा सवार केही यात्रुहरू घटनास्थलमै गम्भीर रूपमा घाइते भएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, प्रहरी तथा स्वास्थ्यकर्मीको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । उद्धार कार्यपछि घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ । अधिकारीहरूका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।
स्थानीय प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।


