कोलोराडोको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापित

तस्विरहरुः नातिबाबु भट्ट / एचकेनेपाल डट कम

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जनवरी १३, कोलोराडो अमेरिका। कोलोराडोको ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र ब्रुमफिल्ड सिटीकी मेयर गाइलिनले एक समारोहबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले औपचारिक रूपमा हस्ताक्षर गरेर सम्बन्ध शुरू गरेका हुन्।

ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा कला, सांस्कृतिक र प्रविधि आदान–प्रदान, आपसी सहयोग तथा सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिई दुवै सहरका मेयरहरूले साझेदारीको पत्रमा हस्ताक्षर गरेका हुन्। जनवरी १२, २०२६ मा सम्पन्न कार्यक्रममा ब्रुमफिल्ड सिटीका पदाधिकारीहरू, ललितपुर महानगरपालिका वडा नं. १३ का गणेश केसी, नेपाली धावकद्वय टेन्डिङ शेर्पा र मिरा राई तथा कोलोराडोमा रहेका नेपाली समुदायका सदस्यहरू, संघ–संस्थाका पदाधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरूमा ललितपुर महानगरको वस्तुस्थिति झल्किएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। साँझ ६ देखि ८ बजेसम्म सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै ब्रुमफिल्डकी मेयर गाइलिनले आजदेखि दुवै शहरबीच भगिनी सम्बन्ध औपचारिक रूपमा स्थापना भएको घोषणा गर्दै यस सम्बन्ध स्थापना गर्न धेरै टाढाबाट आउनुभएका चिरिबाबु लगायत नेपाली समुदायलाई स्वागत गरेकी थिइन्। यस सहकार्यले दुवै सहरका नागरिकबीच दीर्घकालीन सम्बन्ध र समझदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी थिइन्।

यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुले आफूहरूप्रति दर्शाइएको स्वागत र सत्कारप्रति धन्यवाद दिए। उनले ललितपुरलाई ललित कलाको सहरका रूपमा परिचित गराउँदै यसको ऐतिहासिक, सांस्कृतिक र कलात्मक महत्वबारे प्रकाश पारेका थिए। विशिष्ट वास्तुकला, परम्परागत हस्तकला र जीवन्त सांस्कृतिक अभ्यासका कारण ललितपुर विश्वमै चर्चित रहेको उनले दाबी गरे। ललितपुरलाई विश्व हस्तकला परिषद्बाट मान्यता प्राप्त विश्वको ३५औं तथा नेपालकै एक मात्र हस्तकला शहर हुनु गौरवको विषय भएको भन्दै यस सम्बन्धले कला, सांस्कृतिक र प्रविधि आदान–प्रदान, आपसी सहयोग तथा सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। उनले नेपाल घुम्न आउनसमेत सबैलाई अनुरोध गरे।

कार्यक्रममा दुवै सहरका मेयरहरूले यस सम्बन्धलाई यहाँसम्म ल्याइपुर्‍याउन धेरै लामो समयदेखि अथक प्रयास गर्ने हेल्पिङ ह्यान्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठलाई धन्यवाद दिएका थिए।

ब्रुमफिल्डको ललितपुरसँग विश्वका अन्य दुई सहरसँग पनि भगिनी सम्बन्ध स्थापित भएको छ। यसअघि ब्रुमफिल्डले जापानको उएदा सहरसँग सम्बन्ध स्थापना गरेको थियो। ललितपुरको भने ब्रुमफिल्डसँगै विश्वका अन्य सहरहरू कोरियाको छेयरेन र रूसको उलान उडे सँग भगिनी सम्बन्ध स्थापना भएको छ। हस्ताक्षर कार्यक्रमपछि दुवै सहरका मेयरहरूले एकअर्कासँग दुवै सहरको झण्डा र उपहारहरू साटासाट गरेका थिए।

ब्रुमफिल्डको तर्फबाट जुन्को गुडविनले नेटिभ अमेरिकन वेडिङ भेस उपहारस्वरूप प्रदान गरेकी थिइन्। उपहार आदान–प्रदानको क्रममा ब्रुमफिल्डकी मेयर गाइलिनले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ब्रुमफिल्डका दुई ऐतिहासिक तथा आकर्षक स्थलहरू—स्नोई एन्थेम पार्क र सन् १९०८ मा निर्माण गरिएको ब्रुनर फार्म हाउसका तस्बिरहरू उपहारस्वरूप प्रदान गरेकी थिइन्।

ललितपुरको तर्फबाट मेयर चिरिबाबुले मेयर गाइलिन लगायत अन्य पदाधिकारीहरूलाई एउटै काठमा हातले कुदेर बनाइएको लोपोन्मुख जनावर एकसिंगे गैंडाको बाबु, आमा र बच्चाको आकृति अंकित सुन्दर कृति र मयूर झ्याल लगायतका सुन्दर कृतिहरू प्रदान गरेका थिए।

कार्यक्रममा नारायण श्रेष्ठले यस क्षेत्रमा रहेका नेपाली समुदायहरूको परिचय दिँदै हेल्पिङ ह्यान्ड संस्थाको कार्यबारे जानकारी दिएका थिए। समारोहमा नेवाः खलःले नेवाः समुदायको परम्परागत सांस्कृतिक धिमे बाजा बजाएका थिए।





Comments

comments

135105