काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो। पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले अत्यधिक चिसो महसुस गरिरहेका छन्।
तापक्रम घटेसँगै काठमाडौँका चन्द्रागिरि लगायतका क्षेत्रमा बिहानपख तुसारो परेर जमिन सेताम्मे देखिन थालेको छ। दिउँसोको समयमा घाम लाग्दा केही राहत मिले पनि बिहान र बेलुकाको समयमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। मौसमविद्का अनुसार बढ्दो वायु प्रदूषणले पनि चिसोको प्रभावलाई थप बढाएको छ। विभागको अभिलेख हेर्दा पुसको सुरुवातदेखि नै तापक्रम क्रमिक रूपमा घट्दै गएको देखिन्छ।
काठमाडौँ मात्र होइन, देशका अन्य भागमा पनि चिसोको प्रकोप बढ्दो छ। विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.९ डिग्री पुगेको छ भने जिरीमा माइनस १.६ डिग्री रेकर्ड गरिएको छ। त्यस्तै दिपायलमा २.२, जोमसोममा १.५ र सिमरामा ५.९ डिग्री न्यूनतम तापक्रम रहेको छ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने सम्भावना छ।
तराईका जिल्लाहरूमा भने बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा जनजीवन र यातायात क्षेत्र बढी प्रभावित भएको छ। हुस्सुका कारण हवाई र सडक यातायातका साथै स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। चिसो अझै केही दिन कायमै रहने भएकाले अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ।


