काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका साेमाबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ।
मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका जुनियर सहायक अङ्कित ढुङ्गानाले राससलाई जानकारी दिए।
उनले भने, “मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९/२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रूपमा रद्द गरिएको हो।”
यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ।
थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९/९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए।


