तीन अर्बमा २२ तले धरहरा बन्ने

पुरातत्व विभागले भूकम्पमा ध्वस्त ऐतिहासिक धरहराको पुनर्निर्माण गर्दै छ । विभागले २२ तलाको धरहराको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) बनाइसकेको छ । रिपोर्टअनुसार धरहराको कुल उचाइ दुई सय ४५ फिट हुनेछ । धरहराको बाहिरी स्वरूप ११ तलाको नै देखिनेछ । तर, भित्री भाग भने २२औँ तलामा बाँडिनेछ । अबको तीन वर्षभित्र तीन अर्ब रुपैयाँमा धरहरा निर्माण भइसक्नेछ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलका अनुसार धरहरा नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ । नपुग रकम भने नेपाल टेलिकमले हाल्नेछ । ‘ऐतिहासिक स्तम्भ धरहरा अबको तीन वर्षभित्र तीन अर्ब रुपैयाँको लागतमा निर्माण हुनेछ । निर्माणका लागि आवश्यक रकम नागरिकबाट उठाइनेछ, नपुग रकम भने नेपाल टेलिकमले लगानी गर्नेछ । धरहरा नेपालीले नै निर्माण गर्नेछन्,’ सोमबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले भने ।

धरहराको नक्सा डिजाइन अत्याधुनिक तवरले गरिएको मन्त्री पोखरेलले जानकारी दिए । धरहरा १५४६.८८ वर्गमिटरमा निर्माण हुनेछ । धराहराभित्र अत्याधुनिक दुईवटा लिफ्टको व्यवस्था गरिनेछ । प्रत्येक लिफ्टले १० जना यात्रुलाई सेवा दिन सक्नेछ । लिफ्टको सबैभन्दामाथि अर्थात् २१औँ तलामा मेसिन राख्ने कोठा निर्माण गरिनेछ । २०औँ तलामा प्रोजेक्टर रूम निर्माण गरिनेछ । यस तलमा बार्दली निकालिनेछ, जसबाट उपत्यकाको मनोरम दृश्य नियाल्न सकिनेछ । बार्दलीमा १८ जना अटाउन सक्नेछन् । १९औँ तलामा १७ जना दर्शक अट्ने थिएटर रुम निर्माण गरिनेछ ।

धराहराको सबैभन्दा तल्लो तलामा अत्याधुनिक म्युजियम निर्माण गरिनेछ, जसमा धरहरा सम्बन्धित तस्बिर राखिने पुरातत्व विभागले जनाएको छ । धरहराको उत्तर–पश्चिमतर्फको भागमा १२२५.९४ वर्ग मिटरमा अत्याधुनिक म्युजियम निर्माण गरिनेछ । म्युजियम दुई तलाको हुनेछ । प्रत्येक तलामा आउजाउ गर्न अत्याधुनिक भर्‍याङ (एलिभेटर) जडान हुनेछ । धरहरा परिसरमा आधुनिक खालको बगैँचा र पार्क निर्माण गरिनेछन् । बगैँचाको बीचमा विद्युतीय फाउन्टेन बनाइनेछ । धरहरा नजिकै २४सै घन्टा पानी प्रवाह हुने सुनको धारा निर्माण गरिनेछ । यातायात निकासका लागि विशेष खालको सडक निर्माण गरिने र अपांगता भएकाका लागि विशेष खालको लिफ्टको व्यवस्था पनि धरहराभित्र हुनेछ । दुवै तलामा अत्याधुनिक पार्किङको व्यवस्था हुनेछ । पार्किङमा सात सय ७२ वटा मोटर पार्क गर्न सकिने खबर नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

13729