राष्ट्रले नगरी नहुने प्राध्यापक सम्मेलनको गुदी

नरेन्द्रराज प्रसाई –
कहिलेकाहीँ अपत्यारिलो सोचले पनि साकार रूप लिँदो रहेछ। कहिलेकाहीँ बोझिलो, गह्रौँ र अप्ठ्यारो भारी पनि सहज रूपमा बोक्न सकिँदो रहेछ। अनि कहिलेकाहीँ कसैबाट एक पैसाको हारगुहार र सरसहयोग नपाउँदा पनि राष्ट्रले नगरी नहुने काम एउटा संस्थाले गर्न सक्ने वातावरण जुर्दो रहेछ। यस्तो विशाल भारीको नाम्लो नइको थाप्लामा अडिएको भनेर मलाई चाहिँ हेक्कै रहेन।

नइ एकेडेमी, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सम्पूर्ण सदस्यहरूको जोडतोडको सहयोगको बिम्ब नै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ हो। मेरी गुरुदेवी इन्दिरा प्रसाई, मेरा छोराछोरी डा. कञ्चनजङ्घा प्रसाई र डा. अनुकृति प्रसाई अनि म भएर नेपाली भाषाको दिग्विजयका लागि प्राध्यापक सम्मेलन गर्न अहोरात्र समर्पित भएको बेहोरा हाम्रा लागि अर्को गौरवबोध हुँदै हो।

नरेन्द्रराज प्रसाई

युगपुरुष श्री ५ महेन्द्रको दूरदर्शितापूर्ण राष्ट्रिय दृष्टिकोणका परिणामस्वरूप ६५ वर्षअघि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो। स्थापनाकालदेखि नै यी दुवै संस्थाले नेपालका विविध भाषाका साथै नेपालको राष्ट्रभाषा नेपाली भाषालाई आफ्ना शिरमा बोक्दै आएका छन्। यी संस्थाले नेपाली भाषासाहित्यको अध्ययन-अध्यापन, अनुसन्धान र सृजनात्मक संवर्द्धनमा योगदान पुर्‍याउँदै आएको कुरा नेपाली भाषासाहित्यमा लिपिबद्ध भएकै छ।

नेपाली भाषासाहित्यको अध्ययन-अध्यापनको शृङ्खला नेपालमा मात्र होइन, नेपालबाहिर विशेष गरी भारतका विभिन्न विश्वविद्यालयमा समेत दिनानुदिन विस्तारित हुँदै आएको छ। यसबाहेक चीन, बेलायत र अमेरिकाका कतिपय उच्च शैक्षिक संस्थाहरूमा पनि नेपाली भाषासाहित्यको अनुसन्धानको शृङ्खला विस्तारित हुँदै आएको छ। यसरी नेपाली भाषासाहित्य उच्चशिक्षा र अनुसन्धानको विषय बन्दै जानु हाम्रा निम्ति गौरवको विषय हो। तर आजसम्म यससम्बन्धी एउटा भरपर्दो अभिलेख कतै देखिएन। त्यसैको परिपूर्तिका लागि नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको आवश्यकता बोध भएको हो। ढिलै भए पनि यस्तो इतिहास निर्माण गर्न सकेकोमा हामी धन्य भएका छौं।

जेजस्तो रूपमा भए पनि नेपाल तथा भारतमा प्रारम्भिक अवस्थादेखि नेपाली भाषासाहित्यको विश्वविद्यालयस्तरमा भए-गरेका पढाइ, लेखाइ र अनुसन्धानसँग सम्बन्धित एउटा बलियो दस्तावेज हामीसँग सुरक्षित रहने भएको छ। अब भोलिका दिनमा हाम्रा भावि पुस्ताले यस विषयमा ‘कहीँ केही छैन’ भनेर टाउको दुखाउनु र झुकाउनुपर्ने छैन। हो, अन्वेषणको क्रम भनेको बगिरहने नदीजस्तै हो। जुन भाषासाहित्यमा अन्वेषणात्मक कार्यहरू जति अधिक मात्रामा हुने गर्छन्, त्यसभित्र परिमार्जन तथा परिष्कारका क्रियाकलापहरू सञ्चालित हुने गर्छन्, ती भाषासाहित्य त्यत्तिकै सबल र दीर्घजीवी पनि हुने गर्छन्।

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको आयोजना गर्नका लागि हामी नइसँग मन मात्रै थियो, धन थिएन। यसका निम्ति आवश्यक खर्च जुटाउन हामीबाट अनेक प्रयत्न नभएका पनि होइनन्। वास्तवमा यो सानोतिनो बजेटले थेग्न सक्ने योजना पनि थिएन। त्यसैले निर्धारित समयमा नै यसको सार्थक परिणामका लागि विभिन्न ठाउँमा धाउन पनि हामीले छाडेनौं। यस एक दशकबीच हाम्रा सङ्कलित ती आलेखहरू दुई-तीन पटकसम्म पनि सम्बन्धित प्राज्ञहरूबाट संशोधन गर्नुपरेको थियो।

२०७२ सालमा प्रधानमन्त्रीसँगको मिठो, चिरस्मरणीय र सुखद संवादले मेरो मनमा घरिघरि साउती गरिरहेको हुन्छ— ‘राज्यले गर्नुपर्ने, प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयले गर्नुपर्ने यति ठूलो काम नइले गर्दै छ। पैँतीस लाख रुपैयाँ राज्यका लागि केही होइन। यो रकम पर्सिको क्याबिनेटबाट निकासा हुन्छ।’ अन्ततः सात-आठ महिनासम्म बालुवाटारदेखि सिंहदरबारसम्म धाउँदा पनि त्यो पर्सि आउनुपर्ने विहीबार हाम्रा सामु देखा नै परेन। त्यसपछिका दिनहरूमा प्रधानमन्त्रीको गरिमाशाली कुर्सीमा बस्ने कुनै पनि नेतालाई हामीले भेटेका पनि छैनौं र नजिकैबाट तिनका अनुहार देखेकै पनि छैनौं। किनभने उनीहरूलाई नेपाली भाषासाहित्य कुन चराको नाम हो भन्ने थाहा छैन नै होला भन्ने हामीलाई लाग्न थाल्यो।

यदि उनीहरूभित्र पनि नेपाली भाषासाहित्यप्रतिको मोह हुन्थ्यो भने प्रधानमन्त्रीलगायत शिक्षा मन्त्रालयदेखि संस्कृति मन्त्रालयसम्म एक जना पनि नेपाली भाषाका विशेषज्ञ भेटिँदैनथे र! यदि उनीहरूको मनमा नेपाली भाषासाहित्यको छाप परेको हुन्थ्यो भने नेपालका विश्वविद्यालयहरूको आज हामीले यो हविगत हेर्नुपर्ने थियो र! अनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको ‘राजकीय’ नै मेटेर त्यसलाई दलबलको जागिर खाने भाँडो बनाएपछि यिनीहरूको भाषाप्रतिको धर्म छर्लङ्गै देखिएन र?

हो, हामी नइ नेपाली भाषासाहित्यका इतिहासकार पनि हौं। हामीले भोगेको वर्तमानको साक्षी पनि हामी नै हौं। त्यसैले हामीले भोगेको वर्तमान हामीले नै लेख्नुपर्छ, लेखिरहन्छौं र बाँचुन्जेल लेखिरहेकै हुनेछौं। स्वतन्त्र इतिहास लेख्न कसैको छत्रछाया चाहिँदैन। सत्य र निष्ठापूर्वक हामी नेपाली भाषासाहित्यको सेवामा समर्पित छौं। नेपाली भाषाको सेवामा मन, वचन र कर्मले जुट्नु नै हामीले हाम्रो भाग्य सम्झेका छौं। नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन त्यही निष्ठा र समर्पणको एउटा उदाहरण पनि हो।

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको प्रतीक चिन्ह अथवा लोगोमा आधारित नेपाल र भारतको झन्डा हेरेर धेरैका धेरै प्रकारका जिज्ञासाहरू रहँदै आए। सरकारले कति पैसा दियो? राजदूतावासले कति सहयोग गर्‍यो? यस्ता प्रश्नले हाम्रो मन कति छियाछिया भयो होला? त्यसपछि नइले ‘नेपाल सरकार, कुनै पनि कूटनीतिक नियोग र गैरसरकारी संस्थाबाट यस सम्मेलनका लागि आर्थिक र भौतिक लगायतका कुनै पनि सहयोग लिएको छैन’ भनेर विज्ञप्ति नै प्रकाशित गर्नुपरेको थियो। यसरी उल्टै स्पष्टीकरण दिईदिई नेपाली भाषासाहित्यको सेवा गर्नुपरेका तीता बेहोराको सग्लो चित्र प्रकाशोन्मुख मेरो आत्मकथामा पनि लेखिएकै छ।

२०७२ सालमा नै नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि पैँतीस लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो। कहीँ कतैबाट आर्थिक स्रोत नजुटेपछि नइ एकेडेमीले एक वर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरेर नेपाली भाषासाहित्य केन्द्रित बृहत् र ऐतिहासिक नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको आयोजना गरेको हो।

नइ एकेडेमीले प्रा.डा. महादेव अवस्थीको संयोजकत्वमा तीनदिने नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि बृहत् योजना बनाएको थियो। यस सम्मेलनको दायित्व डा. अवस्थीलाई सुम्पिएपछि उहाँको हिम्मत आकाशिँदो थियो। डा. अवस्थीले यस सम्मेलनका लागि रातोदिन समर्पित भएर आफ्नो योगदान अर्पण गरिरहनुभयो। त्यसैले सम्मेलनले सार्थक स्वरूप प्राप्त गर्न सकेको हो। त्यति मात्र होइन, भारतकी विदुषी प्रा.डा. कविता लामासँग पनि यसबारे घरीघरी परामर्श भइरह्यो। डा. लामाको पहुँच, मद्दत र सल्लाह पनि हाम्रा लागि उच्चस्तरमा गाँसिए। अनि त्यसभन्दा ठूलो कुरा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा हामीले हाम्रा योजना अघि बढाउन पायौं। हुन त प्रा. राजेन्द्र सुवेदीले पनि एक वर्षसम्म यसको दायित्व आफ्ना काँधमा लिनुभयो। उहाँको पनि सम्मेलनप्रतिको लगन जोसिलो थियो। त्यसपछि नइको होस्टेमा हैंसे गर्ने काम प्रा. केशव सुवेदीको नै रहिरह्यो। प्रा. सुवेदीको रातोदिनको जाँगर सम्मेलनका लागि एउटा बलियो, सशक्त र ठोस कारक हुँदै हो।

२०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न त्रिदिवसीय नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्व थियो। त्यस बेहोराले हामी नइलाई अर्को गौरवको शिखर आरोहण गरेको अनुभूति भएको थियो। नेपाली भाषासाहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सबैभन्दा बलिया, स्थापित र उचाइ प्राप्त गरेका स्रष्टा डा. त्रिपाठीको मार्गदर्शन, सद्भावना र परामर्शका कारण सम्मेलनलाई निष्कर्षमा पुर्‍याउन हामीलाई ठूलो बल प्राप्त भएको थियो।





Comments

comments

138103