Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा यसरी मनाइयो तमुहरुको ट्होटें पर्व

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३२ साउन। तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटें मंगलवार तमु धिं नेपालको आयोजनामा पोखरामा तमुहरुले सामुहिक रुपले धुमधामका साथ मनाए । कस्केली तमुहरुले तमुवान प्रदेश घोषणाको माग गर्दै ट्होटें सम्पन्न गरेका छन्।

पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा ट्होटें पर्व कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका पुर्व महासचिव देवीराज तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, ट्होटें संयोजक रुद्रबहादुर तमु लगायतले तमुवान भुमिको पुजा गरी मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिका साथ शुरु भएको ट्होटें र्याली बागबजार, विन्दवासिनी, मोहरियाटोल, नालाको मुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल भिमसेनचोक, नयाँबजार हुदै तमु धिं नेपालमा पुगी ट्होटें समारोहमा परिणत भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका पुर्व महासचिव देविराज तमुले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गर्नुभएको थियो । उहाँले मन्तव्य व्यक्त गर्नुहुदै तमु लगायत विगतदेखि विभेद, वहिष्करणमा परेकाहरुका पहिचान र अधिकार सुनिश्चितता लागि तमुवान प्रदेश घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । तमुवान स्थापनाबाटै तमुहरुको अधिकार सुनिश्चित हुने भएकाले कुनै पनि भ्रममा नपरी एकताबद्ध आन्दोलन आवाश्यकता छ भन्नुहुदै उहाँले अहिले जारी गरिएको संविधान विभेदमा पारिएका जनताका लागि घातक भएकाले संशोधन गरी सबैलाई अधिकार सम्पन्न गराउन माग गर्नुभयो । प्रमुख अतिथि तमुले स्थानिय तहको पुनसंरचनाको नाममा विभिन्न षडयन्त्र भएको छ भन्नुभयो । पोखरा उपमहानगरपालिकाले हालै बृद्धि गरेको कर तत्काल घटाउन तमु धिं नेपालले दवाव दिनुपर्ने सुझाव उहाँको थियो।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुँवरले ट्होटेंको शुभकामना व्यक्त गर्नुहुदै तमु जातिको साँस्कृतिक संरक्षणका लागि पोखरा उपमहानगरपालिकाले सहकार्य गर्ने बताउनुभयो । उहाँले विभिन्न जातजातिका सँस्कृति राष्ट्रकै सम्पत्ति भएकाले ट्होटें जस्ता महत्वपुर्ण पर्वहरुको संरक्षण लागि तमु समुदायसँग राज्यको दायित्व हुने बताउनुभयो।

तमु धिं नेपालका कार्यसमिति सदस्य तथा प्रचार विभाग संयोजक हुमबहादुर तमुले ट्होटें पर्वको ऐतिहासिकता, महत्व र वर्तमानको मागको बारेमा प्रष्ट्याउनुहुदै परापुर्वकालमा तमुहरुको ट्हो(राज्य, गाँउवस्ती) सुरक्षाका लागि, ट्होबाट बैरीहरुलाई धपाउने रुपमा मनाइने गरेको तर आज तमुहरु राज्य विहिन भएकाले तमुवान प्रदेश प्राप्तिको मुख्य मागका साथ ट्होटें खेल्नुपरेको बताउनुभयो । विगतमा राज्य सत्ता संचालन गरेका तमुहरुले आफ्नो राज्य सभ्य, सुरक्षित र संरक्षणका लागि ट्होटें खेल्न तमुहरु आज राज्य विहिन हुन दुर्भाग्य भएकाले तमुवान प्राप्ति विना पहिचान, अधिकार, प्रतिनिधित्व, पहुँच, भाषा सँस्कृतिको संरक्षण हुन नसक्ने बताउनुभयो।

पोखरा १ वगर टुडिखेलस्थित पुरानो साइनिङ्ग अस्पताल रहेको जग्गा न्यायलय मार्फत सार्वजनिकिकरण गर्न सफल नागरिक समुहका अध्यक्ष तथा सिमपानी तमु समाजका सचिव माया गुरुङ तमु धिं नेपालका अध्यक्ष कर्म तमु र पोखरा उपमहानगर पालिकाका कार्यकारी प्रमुखबाट सम्मानित भए पश्चात मन्तव्य व्यक्त गर्नुहुदै उक्त जग्गामा अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो । सार्वजनिक जग्गालाई व्यक्तिले निजी गर्न खोज्दा न्यायलयको ढोका ढकढकाउने बेला पोखरा उपमहानरपालिकाले सिफारिस समेत नदिएको अवस्थामा सबैको साथ सहयोगबाट मुद्धा नागरिकको पक्षमा फैसला भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुहुदै उक्त जग्गामा अस्पताल निर्माणका लागि तमु धिं नेपालले पहल गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा पुर्व सांसद हितकाजी तमुको संयोजनमा तमुवान साँस्कृतिक समुहले तमुवान जागरण गीत प्रस्तुत गरेको थियो भने कोल्माबहाकोट तमु समाजले झोडा, आँधीखोला तमु समाजले घाँटु, याङजाकोट तमु समाजले सोरठी लगायत कलाकारहरुले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए भने खानेपानी सौजन्य गर्ने तमु धिं नेपालका कार्यसमिति सदस्य नारायण तमु, बगर समाजकी टौश्री तमु र हरिमाया तमु, तमु मै ताँ कार्यक्रममा सञ्चालक युग तमुलाई सम्मान गरिएको थियो।

यसैविच ट्होटें र्यालीमा आयोजित मुल्यांकनमा सिमपानी तमु समाज सर्वोत्कृष्ट हुदै पुरस्कृत भयो भने युवा सहभागीतामा उत्कृष्ट हुदै पैयँुखोला तमु समाज, जनसहभागीतामा सुर्यमुखी तमु समाज, झाँकीमा फूलवारी तमु समाज, बाजागाजामा बाझापाटन तमु समाज र भेषभुषामा दुधपोखरी तमु समाज उत्कृष्ट बन्दै पुरष्कृत भएको छ । यसरी नै शान्ति रुपा बराहथो, अर्घौ तमु समाज, भिमकाली पाटन, नौलो सम्झना र सोंपाल तमु समाज सान्त्वना घोषित हुदै प्रमुख अतिथि देवीराज तमुबाट पुरस्कृत भएका थिए । अधिवक्ता जुनाकुमारी तमुको संयोजकत्वमा रहेको मुल्यांकन समितिलेको नतिजा सदस्य दुर्गाबहादुर तमुले घोषणा गर्नुहुदै तमुवानका लागि सबै एकताबद्ध हुन आग्रह गर्नुभएको थियो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा ट्होटें संयोजक रुद्रबहादुर तमुले स्वागत, तमु धिं नेपालकी महासचिव रुद्रकुमारी तमु मैना र सचिव गिरीप्रसाद तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

ट्होटें र्यालीमा तमुवानको फेटा, झण्डा र व्यानर सहित चन्द्र तामाङ मुस्कानको नेतृत्वमा रहेको तमुवान साँस्कृतिक समुहले तमुवान जागरण साँस्कृतिक प्रस्तुति गरेका थिए।





Comments

comments

Leave a Reply

13927