न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ जुलाई । हङकङमा वितण्डा मच्चाएको शक्तिशाली समुद्री आँधी ‘टाइफुन नउल’ कमजोर भई टाढा गइसकेकाले हङकङ अब्जर्भेटरीले आज आइतबार साँझ ७:१० बजे सबै प्रकारका आँधीका चेतावनीहरू पूर्ण रूपमा हटाएको छ।
आज दिउँसो १२:४० बजे ठूलो चेतावनी सिग्नल नम्बर ८ लाई हटाएर सिग्नल नम्बर ३ कायम गरिएको थियो। त्यसपछि दिउँसो ३:२० बजे मौसमलाई सिग्नल नम्बर १ मा झारिएको थियो भने साँझ ७:१० बजे पुग्दा सबै सिग्नलहरू खारेज गरिएका हुन्।
आँधी र तीव्र हावाहुरीका कारण हङकङभर ३३१ वटा स्थानमा रुखहरू ढलेका छन्। ताइपो क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित भएको छ। ताइपोको तुङ माउ स्क्वायरमा एउटा ठूलो रुख उख्लिएर गुडिरहेका र पार्क गरिएका ट्याक्सी तथा निजी कारहरूमाथि ढल्दा तीनवटा गाडीहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।
यसैगरी ताई वो रोड, नाथन रोड र अन तिङ एस्टेट बाहिर पनि विशाल रुखहरू ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेका थिए। आँधीका कारण हङकङका ८ वटा विभिन्न स्थानमा सामान्य बाढी आएको रिपोर्ट समेत प्राप्त भएको छ।
अस्पताल प्राधिकरणका अनुसार यो भीषण आँधीका कारण हङकङमा हालसम्म २१ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेहरूको विभिन्न सरकारी अस्पतालका आपत्कालीन कक्षहरूमा उपचार भइरहेको छ।
गृह मन्त्रालयले खोलेका २९ वटा अस्थायी आश्रयस्थलहरूमा २२८ जना भन्दा बढी मानिसहरूले सुरक्षित शरण लिएका थिए।
विमानस्थल प्राधिकरणका अनुसार आँधी र खराब मौसमका कारण आज दिनभरिमा ३५० भन्दा बढी हवाई उडानहरू रद्द तथा प्रभावित भएका छन्। सबै चेतावनीहरू हटेसँगै हङकङको रेल, बस र फेरी सेवाहरू पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेका छन्।


