नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोमा २१३ औँ भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा यही जुलाई २५ तारिखका दिन २१३ औँ भानु जयन्ती विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको हो।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम समारोहमा उपस्थित महानुभावहरूबाट आदिकवि भानुभक्तको तस्बिरमा फूलगुच्छा अर्पण गर्दै सुरु गरिएको थियो।
अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीको अध्यक्षता तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष तारा अधिकारीले स्वागत मन्तव्यमार्फत कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गरेकी थिइन्।
यसैगरी कार्यक्रममा अनेसास ट्रस्टी डा. विजयराज शर्माबाट भानुभक्तले नेपाली भाषा साहित्यमा पुर्याएका योगदानको बारेमा चर्चा गरेका थिए। समारोहमा हालै सम्पन्न अनेसासको केन्द्रीय कार्यसमितिको निर्वाचनमा कोलोराडोबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष तारा अधिकारी र महासचिव राजु सिटौलालाई कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठ र अनेसास बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले सम्मान गरेका थिए।
सोही समारोहमा हालै कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई सफल बनाउन अमूल्य योगदान पुर्याउनुहुने विभिन्न विषयगत समितिका संयोजक, सहयोगी दाताहरू, स्वयंसेवक, पत्रकार तथा अन्य विभिन्न व्यक्तित्वहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई खादा पहिर्याइदिई, कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा अनेसासका आजीवन सदस्यहरू, ट्रस्टी सदस्यहरू, सल्लाहकार, पूर्व कार्यसमितिका पदाधिकारीहरू, समाजसेवीहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू तथा नेपालीभाषी बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। समारोहमा बाल कलाकार प्रियाङ्का श्रेष्ठले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भएको आम्दानी खर्चको विवरण पढेर सुनाइएको थियो। जसमा ४६ हजार ३ सय ५ आम्दानी भएको र खर्च ५९ हजार ८ सय ९८ डलर भई १३ हजार ५ सय ९३ डलर घाटा भएको विवरण केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष तारा अधिकारीले पढेर सुनाएकी थिइन्।
कोलोराडो च्याप्टर सचिव परिवेश शर्मा, केन्द्रीय महासचिव राजु सिटौलाले वरिष्ठ उपाध्यक्ष तारा अधिकारीबाट पालैपालो सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि नारायण श्रेष्ठ र बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भानुभक्तले नेपालमा भाषिक एकता र सांस्कृतिक एकता गर्न ठूलो योगदान पुर्याएको भन्दै नेपालमा मात्र नभई संसारभर सधैँ सबैले सम्झिरहने नाम भएको बताएका थिए। त्यसैगरी पदम विश्वकर्माले नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा तन, मन र धन दिएर सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रमको अन्तिम सत्रमा साहित्यिक कार्यक्रम राखिएको थियो जहाँ संस्थाका सल्लाहकार रेशम गुरूङले व्यङ्ग्य कविता, गायक बसन्त लम्सालले गीत, साहित्यकार लेखक तथा निर्माता कृष्ण मुरारी ढुङ्गेल, साहित्यकारहरू ज्ञानेन्द्र काफ्ले, गंगा अभिलाषी, निर्मला शर्मा, परिवेश शर्मा लगायतका कवि कवयित्रीहरूले आ-आफ्नो रचना पाठ गरी भानुप्रति श्रद्धा अर्पण गरेका थिए।
कार्यक्रमको अन्तमा समारोहका सभापति किरण अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल अब २-३ महिनामात्र बाँकी रहेको यही समयभित्रै नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दा भएको घाटा रकम र आफूले कार्यभार सम्हाल्दा संस्थाको खातामा भएको रकम परिपूर्ति गरेर छोड्ने प्रण गर्दै सभा विसर्जन गरेका थिए।


