काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनाभन्दा बढी समयपछि बिहीवार नेपाल फर्किएका छन्।
स्वास्थ्योपचारका लागि विदेश गएका देउवा विदेश बसाइका क्रममा हङकङमा समेत रहेका थिए।
स्वदेश फर्किएलगत्तै उनलाई विमानस्थलमा कार्यकर्ताले भव्य स्वागत गरेका छन् भने विमानस्थलबाटै कार्यकर्ताले स्कर्टिङसमेत गरेका छन्। गाडीको सनरूफबाट हात हल्लाउँदै देउवाले समर्थक तथा शुभेच्छुकलाई अभिवादन गरेका थिए।
स्वदेश फर्किएलगत्तै देउवाले चारबुँदे लिखित अपिल जारी गर्दै आफू अब ‘नेता’ भन्दा पनि ‘आजीवन नागरिक’ का रूपमा देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु’ भन्दै आफूलाई लिनुपर्ने केही नरहेको बताएका छन्।
देउवाको सन्देशमा ‘प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं’ भन्ने आग्रह गरिएको छ। उनले आफू नेता होइन, नागरिक बनेर आएको र अब देश तथा जनताको सेवामा समर्पित रहने स्पष्ट गरेका छन्।


