ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलका सेवा स्थगित

काठमाडाैँ । इन्डोनेसियाले आइतबार आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र अन्य सात विमानस्थल बन्द गरेपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन्। माउन्ट अनाक क्राकातोआबाट १५० किलोमिटरभन्दा टाढाबाट ज्वालामुखी खरानी र लाभाको बादल उठेपछि सयौँ उडान रद्द भएका हुन्।

इन्डोनेसियाको भूगर्भ विज्ञान सर्भेक्षण तथा अनुसन्धान निकायले दिएको वक्तव्यअनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामूखी विस्फोट भयो, जसबाट लाभाको फोहोरा निस्कियो र सयौँ किलोमिटर टाढासम्म गर्जन सुनियो।

ज्वालामुखीमामिला अध्ययन तथा अनुसन्धान निकायले आइतबार पनि थप दुई विस्फोट भएको जानकारी दिएको छ।

ज्वालामुखीबाट निस्केको खरानी सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्रमा देखिएपछि अधिकारीहरूले सुरूमा आइतबार बिहान १ः३० बजेदेखि ५ः३० बजेसम्मका लागि सेवा सञ्चालन स्थगित गरेका थिए।

यातायात मन्त्रालयले दिएको वक्तव्यअनुसार स्थगन पटक–पटक थपियो र पछिल्लो सूचनापछि यो मध्यरातसम्म कायम रहनेछ। मन्त्रालयले बान्डुङको हुसेन सास्त्रानेगारा विमानस्थल र सुमात्राको बन्दर लाम्पुङ नजिकको रादिन इन्तेन द्वितीय विमानस्थल सहित अन्य सात विमानस्थलमा पनि सेवा सञ्चालन स्थगित गरिएको बताएको छ। “ज्वालामूखीका कारण हालसम्म प्रभावित आठ विमानस्थलमा एक हजार ५५८ उडान ढिला भएका छन् जसका कारण एक लाख ७० हजार यात्री अलपत्र परेका छन्,” मन्त्रालयले भनेको छ।

अधिकांश स्थगित उडानमध्ये ९०० भन्दा बढी प्रभावित उडान सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट उडान भर्ने रहेका थिए । यातायात मन्त्री डुडी पुर्वागान्धीले सेमाराङ र सुराबायालगायतका शहरका केही विमानस्थलहरूलाई ‘अवतरणका वैकल्पिक स्थान’ का रूपमा तयार पारिएको बताए।

अवरोधका कारण केही यात्री वैकल्पिक उडान खोज्न बाध्य भएका बताइएको छ । आफ्नी आमालाई लिएर गृहनगर फर्कने आशा गरेकी ४४ वर्षीया हेन्नी येन्सानले ‘सबै निराश भएको’ तर ‘कसैले पनि रिस नदेखाएको’ बताउनुभयो । यो अन्ततः प्राकृतिक विपद् थियो त्यसैले निराश भएर पनि पर्खनुको विकल्प भने थिएन।

शुक्रबारदेखि लोम्बोकमा व्यापारिक यात्रामा रहेका डानोनका कार्यकारी सामुएल गिबेर्तोले राजधानी फर्कने वैकल्पिक उडान खोज्दै गरेको बताए। उनले विकल्प खोजेपनि ‘अहिले केही निश्चित छैन’ भने।

“मैले सिटीलिङ्कमा अर्को उडान फेला पारेको थिएँ तर त्यो पनि रद्द भयो,” ४७ वर्षीय एक व्यक्तिले फोनमार्फत् एएफपीसँग भने । उनले भने, “अहिलेलाई लोम्बोकमै बस्नुको विकल्प छैन।”

ज्वालामुखी खरानी सुमात्राको दक्षिणी छेउमा रहेको बन्दर लाम्पुङ शहरसम्म पुगेको छ, जसले पार्किङ गरिएका कार र सडकका छेउहरू ढाकेको छ। रासस





Comments

comments

140730