‘हामीले नतताएको जलवायु र सुरु नगरेको युद्धको सजाय भोग्दैछौँ’— राष्ट्रसंघ महासभामा बालेन शाहको सम्बोधन

–

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जलवायु न्याय र विश्वव्यापी सुरक्षाको विषयमा कडा र तार्किक आवाज उठाएका छन्।

न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा सम्बोधन गर्दै उनले नेपालले विश्वव्यापी संकट सिर्जना गर्न कुनै भूमिका नखेले पनि यसको सबैभन्दा ठूलो मूल्य चुकाउनु परेको बताए। उनले आफू राष्ट्रसंघको मञ्चमा गुनासो गर्न मात्र नभएर स्पष्ट सुझाव दिन आएको दृढता व्यक्त गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने र हिमनदी पग्लिने तथा बाढी आउने संकट पासपोर्टमा भिसा लगाएर नआउने यथार्थ प्रस्तुत गरे। विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए तापनि नेपालले ठूला प्राकृतिक विपद्को सामना गर्नुपरिरहेको उनको भनाइ थियो।

उनले ‘जलवायु न्याय’ दस्तावेजमा मात्र सीमित हुन नहुनेमा जोड दिँदै अन्तर्राष्ट्रिय सहायताको ढिलासुस्ती र प्रक्रियामुखी प्रवृत्तिमाथि व्यङ्ग्य गरे। उनले जब घरमा आगो लाग्छ, तब परिवारलाई ५० वटा फाराम भर्न नलगाई तत्काल कदम चालिने उदाहरण दिँदै विश्व समुदायलाई छिटो र प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरे।

सुरक्षा र द्वन्द्वको विरोधाभासमाथि प्रहार गर्दै उनले संसारको जुनसुकै कुनामा ७२ घण्टाभित्र हतियार पुर्‍याउन सक्ने आधुनिक विश्वले एउटा गरिब किसानलाई सम्मानजनक जीविकोपार्जन दिन नसक्नु लाजमर्दो बहाना भएको उल्लेख गरे।

युद्धका लागि त्रुटिरहित आपूर्ति प्रणाली बनाउने विश्वले खाद्यान्न र मानव सुरक्षाको आपूर्ति प्रणालीलाई भने सधैँ कमजोर राखेकोमा उनले चिन्ता व्यक्त गरे। हिमालय क्षेत्रलाई भूराजनीतिक तनावको केन्द्र नबनाई साझा पर्यावरणीय संरक्षणको अन्तर्राष्ट्रिय प्रयोगशाला बनाउनुपर्ने उनको प्रस्ताव थियो।

सम्बोधनको अन्त्यमा विपद्का बेला सहयोग गर्ने छिमेकी देशहरू भारत र चीनसहित विश्व समुदायलाई धन्यवाद दिँदै उनले “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्” भन्दै विश्व शान्तिको कामनाका साथ आफ्नो मन्तव्य टुङ्ग्याए।





Comments

comments

141018