पाेखरा । निरन्तरको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा प्रभावित भएको छ।
फ्लाइ दुबईले बुधबारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई दैनिक उडान पनि आज शुक्रवार रद्द भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
“पोखराको मौसम खराब भएपछि फ्लाइ दुबईले पहिले नै उडान नहुने जनाएको थियो”, उनले भने, “आन्तरिकतर्फको उडान पनि दिनभर हुन सकेन, साँझपख बुद्ध एयरको तीनवटा मात्र उडान भयो ।” दुई दिन उत्साहजनक रूपमा उडान गरेको फ्लाइ दुबईको आजको उडानका लागि मौसम बाधक बनेको हो।
फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलले जनाएको छ । फ्लाइ दुबईले बिहीबार गरेको दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए।
पोखराबाट दुबईका लागि १४३ जना यात्रु उक्त जहाजबाट गएका थिए । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो। रासस


