एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

–

चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारदेखि अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गरेका थिए।

यसै साता वासिङ्टनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्तासम्बन्धी विषय प्रमुख एजेन्डामध्ये एक थियो।

वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति सीलाई पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ भन्दा ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त लागेको दाबी गरेका थिए । उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई कमजोर र गलत तथा ‘सुपर इन्टेलिजेन्स’ लाई अझ सही र महत्त्वपूर्ण नामको सङ्ज्ञा दिएका थिए।

यद्यपि चीनले ट्रम्पको उक्त दाबीको पुष्टि वा खण्डन गरेको छैन । विदेश मन्त्रालयले भने अमेरिकाले अपनाएको नयाँ शब्दावलीलाई महत्त्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ।

मन्त्रालयका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी शब्दावलीका विषयमा चिनियाँ पक्षले अमेरिकी पक्षको अडानलाई महत्त्व दिन्छ र त्यसको शब्द–छनोटको सम्मान गर्दछ।’

विज्ञप्तिमा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद, अनुभव आदानप्रदान र सहमति निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्तासम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदानप्रदान गर्न विशेष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।

ट्रम्पले कृत्रिम बुद्धिमत्ताले मानवताका लागि गम्भीर जोखिम निम्त्याउन सक्छ भन्ने चिन्तालाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ, राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ताको विकास मानवीय नियन्त्रण र जिम्मेवार प्रयोगभित्रै रहनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। रासस





Comments

comments

141053