न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १४ अक्टोबर। हङकङको काइ ताक क्षेत्रमा आफूले हेरचाह गर्दै आएकी एक ९३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा ५२ वर्षीया इण्डोनेसियाली घरेलु कामदारविरुद्ध प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ।
आरोपी महिला खर्सिनालाई बुधबार कुन तोङ म्याजिस्ट्रेट अदालतमा पेस गरिएको छ। अदालतले यस मुद्दाको थप सुनुवाइ र अनुसन्धानका लागि अर्को आदेश नभएसम्म आरोपीलाई थुनामै राख्न अनुमति दिएको छ।
प्रहरीका अनुसार आरोपी कामदार र पीडित वृद्धा काइ ताकस्थित ताक लोङ इस्टेटको एक पब्लिक हाउजिङ युनिटमा सँगै बस्दै आएकी थिइन्।
आरटीएचकेका अनुसार आइतबार बिहान करिब ८:२० बजे ती घरेलु कामदारले भवनका सुरक्षाकर्मीलाई भेटेर वृद्धा बेहोस भएको भन्दै सहयोग मागेकी थिइन्। त्यसलगत्तै वृद्धालाई अस्पताल पुर्याइएको भए पनि अस्पताल भर्ना गरेको एक घण्टाभित्रै चिकित्सकहरूले मृत घोषित गरे। अस्पताल प्रशासनले शङ्कास्पद चोटपटक देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।
प्रहरीले सोमबार बरामद गरेको सीसीटीभी फुटेजको अनुसन्धानबाट घटनाको वास्तविक रूप बाहिर आएको हो। भिडियो फुटेजमा आइतबार बिहान ८ बजेदेखि नै ती वृद्धामाथि पटक-पटक आक्रमण भएको देखिएको प्रहरीले जनाएको छ।
आरोपी कामदारले ती वृद्धाको टाउको, अनुहार, छाती र घाँटीलाई निसाना बनाउँदै नांगो हातले करिब २० पटक प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
लामो समयदेखि बिरामी वृद्धाको हेरचाह गर्ने क्रममा बढेको तनाव र थकाइका कारण उनीहरूबीच विवाद हुँदा यो घटना घटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले घटनाको थप विस्तृत अनुसन्धान अघि बढाएको छ।


