बिजीएनसीसीसी – नेपाल र कानूनी तथा संवैधानिक विज्ञहरूबीच उच्चस्तरीय भेटघाट तथा रणनीतिक छलफल सम्पन्न

–

काठमाडौँ/ललितपुर। ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (बिजीएनसीसीसी) को आयोजनामा अक्टोबर १५, २०२६ (नेपाल संवत् अनुसार) का दिन ललितपुरको कुपण्डोलस्थित एलिस होटलमा बिजीएनसीसीसी – नेपाल टिम र वरिष्ठ कानूनी तथा संवैधानिक विज्ञहरूबीच एक विशेष भेटघाट तथा सघन रणनीतिक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

बिजीएनसीसीसी – युके नेपालका प्रमुख संयोजक सन्तोष थलङ करिब पाँच वर्षको अन्तरालपछि नेपाल आगमन भएको विशेष अवसरमा आयोजित उक्त बैठक सौहार्दपूर्ण एवं आत्मीय वातावरणमा सम्पन्न भयो। बैठकमा गोर्खा समुदायको नागरिकता निरन्तरता सम्बन्धी मुद्दालाई तार्किक र कानूनी निष्कर्षमा पुर्‍याउन आगामी रणनीतिबारे गम्भीर मन्थन गरिएको थियो।

बैठकमा सहभागी प्रमुख व्यक्तित्वहरू:
• डा. चन्द्रकान्त ज्ञवाली – वरिष्ठ संविधानविद् तथा कानूनी सल्लाहकार
• अधिवक्ता योगिता राई – अभियान निर्देशक (बिजीएनसीसीसी नेपाल)
• फुर्बा गर्ज शेर्पा – नेपाल संयोजक
• ज्ञानबहादुर राई – वरिष्ठ सल्लाहकार
• फुर्लाक्पा शेर्पा – सचिव
• टिका घले – सदस्य
• रानी राई – सदस्य

बैठकका प्रमुख निर्णय तथा निष्कर्षहरू:
१. अध्यादेशमार्फत नागरिकता निरन्तरता र तत्काल सर्कुलरको पहल
ब्रिटिश गोर्खाहरूको नागरिकता निरन्तरताका लागि पूर्ण संवैधानिक व्यवस्था नभएसम्म उनीहरूले भोग्नुपरिरहेको कानूनी तथा प्रशासनिक जटिलता फुकाउन विशेष अध्यादेश वा नीतिगत निर्णयको आवश्यकता औंल्याइएको छ।

स्थायी कानूनी समाधान नभएसम्म ब्रिटिश अङ्गीकृत नागरिकता लिएका गोर्खा तथा उनीहरूका सन्ततिहरूको वंशजको नेपाली नागरिकता यथास्थितिमा कायम रहने स्पष्ट व्यहोरासहित नेपाल सरकारका सम्बन्धित निकायहरूमा तत्काल परिपत्र (Circular) जारी गराउन बिजीएनसीसीसी ले सशक्तरूपमा पहल गर्ने निर्णय गरेको छ।

२. समस्याहरूको यथार्थ तथ्याङ्क सङ्कलन अभियान
सरकारसमक्ष अध्यादेश तथा कानूनी सुधारका लागि ठोस दाबी पेश गर्न हालसम्म गोर्खा तथा तिनका सन्ततिहरूले नेपालमा भोगेका कानूनी, प्रशासनिक र व्यावहारिक समस्याहरूको यथार्थ तथ्याङ्क आवश्यक पर्ने निष्कर्ष निकालिएको छ। यसका लागि बिजीएनसीसीसी ले समस्याग्रस्त सम्पूर्ण गोर्खा परिवारहरूसँग विवरण सङ्कलन गर्ने कार्य तत्काल अगाडि बढाउनेछ।

गोर्खा समुदायसमक्ष विशेष आह्वान तथा अपिल
“हाम्रो अधिकार र पहिचानको रक्षाका लागि तपाईंले भोगेका समस्याको विवरण नै सरकारसमक्ष पेश गर्ने सबैभन्दा बलियो प्रमाण हुनेछ।”
नेपालमा नागरिकता, पैतृक सम्पत्ति खरिद-बिक्री, बैंकिङ कारोबार वा अन्य प्रशासनिक कार्यमा समस्या भोगिरहनुभएका सम्पूर्ण ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरूलाई आफ्ना समस्याको यथार्थ विवरण बिजीएनसीसीसी (युके/नेपाल) मा यथाशीघ्र उपलब्ध गराई यस ऐतिहासिक अभियानमा ऐक्यबद्धता जनाउनुहुन हार्दिक अनुरोध गरिन्छ।

सम्पर्क माध्यम:
• 📧 इमेल: [email protected] / [email protected]
• 📞 फोन/व्हाट्सएप: +447491970533 / 07737285313 / 07939812487 / 07961830312
– सन्तोष थलङ





Comments

comments

141538