चीनको बारेमा महराले झुट बोलेपछि…

काठमाडौः चीनले राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण हुन नसक्नेबारे उच्च नेतृत्वलाई पहिल्यै अवगत गराइसकेको खुलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा चीन गएका अर्थमन्त्री कृष्णबहादुर महरालाई चिनियाँ राष्ट्रपतिको भ्रमण तत्काल हुन नसक्ने जनाउ चिनियाँ विदेशमन्त्री वाङ् यीले त्यतिबेलै दिएको माओवादी केन्द्र उच्च स्रोतले बतायो । मन्त्री महराले नेपाल फर्केर भने विमानस्थलमा चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको दाबी गरेका थिए ।

‘चिनियाँ राजदूतले औपचारिक रूपमा सरकारी उच्च नेतृत्वलाई भ्रमण स्थगित भएको बारेमा बताएका छैनन् । तर प्रधानमन्त्री र हामीलाई अनौपचारिक भेटमा राष्ट्रपतिको भ्रमण नहुने उनले बताइसकेका छन्’, स्रोतले भन्यो ।

चिनियाँ उच्च नेतृत्वले महराको भ्रमणप्रति घुमाउरो रूपमा असन्तुष्टिसमेत जनाएको छ । महराले चीन भ्रमणका क्रममा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको स्पष्ट प्रतिबद्धता जनाउन सकेका थिएनन् जुन चीन चाहन्थ्यो ।

बेइजिङस्थित कूटनीतिक स्रोतहरूका अनुसार पनि चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुस मध्य) भित्र नेपाल भ्रमणमा आउने सम्भावना टरेको छ । बेइजिङले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्ने/नगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

असोज २९ र ३० (अक्टोबर १५ र १६) मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक या दुई दिनअघि वा उक्त शिखर सम्मेलन सकेर फर्किने क्रममा राष्ट्रपति सी नेपाल आउने सम्भावना थियो। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14156