अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्।
सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए।
न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरिन् । अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो । भाग्न वा खाना खान खोज्नेहरूलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिटसमेत गरिएको थियो।
म्याकेन्जीले अनुयायीहरूलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिएका थिए । चिकित्सा उपचारलाई ‘शैतानको साधन’ का रूपमा प्रस्तुत गरिएको न्यायाधीशले बताइन्।
सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए । घटनापछि म्याकेन्जी र उनकी श्रीमतीसहित दर्जनौँ व्यक्तिमाथि अभियोग लगाइएको थियो । म्याकेन्जीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गरेका थिए।
घटनामा आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताए । उनले यसले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा व्यक्त गरे।
सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो । यसअघि उच्च अदालतले अभियोग १२ वटामा सीमित गर्न निर्देशन दिए पनि पुनरावेदन अदालतले कानूनले अभियोगको सङ्ख्या नतोकेको ठहर गरेको थियो।
म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र सजाय नोभेम्बर ६ मा सुनाइने तय भएको छ। रासस


