हङकङको आवासीय भवनमा आगलागी: एक पुरुषको मृत्यु, १४० जनाको उद्धार

सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० अक्टोबर। वेस्टर्न डिस्ट्रिक्टको पोक फु लाम रोडमा अवस्थित एक आवासीय भवनमा गए राति भीषण आगलागी भएको छ।

आगलागीका कारण भवनबाट ठूलो मात्रामा कालो धुवाँ निस्किएपछि स्थानीय बासिन्दाहरूले प्रहरी र दमकललाई खबर गरेका थिए।

दमकल विभागले सूचना पाएको ४ मिनेटभित्रै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। अग्निहरूको एक टोलीले एउटा वाटर होज र स्मोक हेल्मेट टोली परिचालन गरी आगो निभाउन सुरु गरेका थिए। राति ९:५४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

दमकलकर्मीहरूले आगलागी भएको फ्ल्याटबाट ६४ वर्षीय ङ थर गरेका एक पुरुषलाई अचेत अवस्थामा फेला पारेका थिए। उनको टाउको र हातमा चोट लागेको थियो। उनलाई तुरुन्तै एम्बुलेन्समार्फत क्वीन मेरी अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा राति १०:४० बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

आगलागीका क्रममा उक्त भवनका करिब १४० जना बासिन्दाहरू सुरक्षित रूपमा आफैँ बाहिर निस्कन सफल भएका थिए।

दमकल विभागका अनुसार आगो लागेको फ्ल्याटमा अत्यधिक मात्रामा पुराना सामान र फोहोरहरू जम्मा गरेर राखिएको थियो। आगो निभाइसकेपछि गरिएको खोजी कार्यमा अन्य कोही पनि घाइते नभएको पुष्टि भएको छ।

भवनको अग्नि नियन्त्रण प्रणाली र उपकरणहरू दुरुस्त अवस्थामा रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार आगलागीको कारण शङ्कास्पद छैन र भान्साकोठामा खाना पकाउने क्रममा आगो सल्किएको अनुमान गरिएको छ।





Comments

comments

141616