चितवन । नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गरी नयाँपन दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
नारायणी नदीमा विगतका वर्षमा मोटरबोट चढ्न पर्यटकको भीड लाग्ने गरे पनि पछिल्लो समय आकर्षण घट्दै गएको व्यवसायीको अनुभव छ । मोटरबोट सञ्चालन हुने अन्य पर्यटकीय गन्तव्य विस्तार हुँदै जानु, नारायणी नदीको धार परिवर्तन हुनु र बाढीका कारण नदीको अवस्था फेरिनुले पनि व्यवसाय प्रभावित भएको उनीहरूको तर्क छ।
नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले पर्यटकको बदलिँदो रुचिअनुसार मोटरबोट सञ्चालनमा नयाँ शैली र विविधता अपनाउनुपर्ने बताए । उनले अहिलेको परम्परागत शैलीबाट मात्रै पर्यटकलाई लामो समय आकर्षित गर्न नसकिने भएकाले सेवामा नयाँपन दिनुपर्नेमा जोड दिए।
“हाल हामीले जुन तरिकाले सुरुदेखि मोटरबोट सञ्चालनमा ल्याएका छौँ, त्यो पुरानो तरिका भयो । अब ‘अपग्रेड’ हुनुपर्दछ,” उनले भने, “मानिस विभिन्न ‘भेराइटी’ खोज्न थालेका छन् । एकपटक चढेपछि फेरि चढ्न पनि मन नगर्ने हुन सक्छ।”
उनका अनुसार पहिले नारायणी नदीमा मात्रै मोटरबोट सञ्चालन हुने गरेकामा पछिल्लो समय अन्य तालतलैयामा यस्तो सेवा विस्तार भएको छ । पर्यटकलाई नयाँ अनुभव प्रदान गर्न नसके व्यवसायमा चुनौती थपिन सक्ने उनको भनाइ छ । त्यसैले मोटरबोट सञ्चालनलाई व्यवस्थित बनाउँदै फरकफरक सुविधा र अनुभव प्रदान गर्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । उनले व्यवसायीबिच अस्वस्थ प्रतिस्पर्धा हुनुभन्दा फरकफरक प्रकारका मोटरबोट सञ्चालनमा ल्याई पर्यटकलाई नयाँ अनुभव प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।
नारायणी नदीमा मोटरबोट सञ्चालन गर्ने ११ वटा कम्पनी दर्ता भएकामा हाल नौ वटा कम्पनीका बोट सञ्चालनमा रहेको अध्यक्ष मल्लले जानकारी दिए । उनका अनुसार हाल तीन वटा ठुला र १५ वटा साना गरी १८ वटा मोटरबोट सञ्चालनमा आउने गरेका छन् । नदीमा एकपटक घुम्न प्रतिव्यक्ति रु २५० शुल्क लाग्ने गरेको छ।
चाडपर्वको अवसरमा केही व्यवसायीले मोटरबोट सञ्चालन गरे पनि नियमित रूपमा पूर्ण क्षमतामा सञ्चालनमा आइनसकेको उनले बताए । बाढीको त्रास अझै कायम रहेकाले व्यवसायीले सावधानी अपनाउँदै मोटरबोट सञ्चालन गरिरहेको उनको भनाइ छ । मोटरबोटलाई सामान्य रूपमा परीक्षण गरी निश्चित मार्गमा सञ्चालन गर्न थालिए पनि नारायणी पुलमुनिबाट लैजान भने अनुमति नदिइएको उनले जानकारी दिए।
यसैबिच, नारायणी नदीमा मोटरबोट सञ्चालन गर्दै आएका व्यवसायीले पर्यटकको आगमन घट्दा सञ्चालन खर्च जुटाउन कठिन भएको बताएका छन्।
नारायणी नदीमा आयुस्मा मोटरबोट सञ्चालन गर्दै आएका विजयचन्द्र अधिकारीले गत वर्षको तुलनामा यस वर्ष व्यापार १० प्रतिशत पनि नरहेको बताए । दसैँको समयमा नारायणगढमा पर्यटकको चहलपहल नदेखिएको उनको भनाइ छ।
गत वषको तुलनामा यस वर्ष नदीको अवस्था परिवर्तन र पर्यटकको आगमनमा आएको कमीले व्यवसाय प्रभावित भएको बताए।
उनले भने, “गत वर्षभन्दा नदी धेरै घटेको छ अहिले । अहिले साँघुरो बनाइदिएको छ । अब यो चैत–वैशाखतिर हेर्ने हो भने चलाउनै मिल्दैन।”
अधिकारीका अनुसार विगतमा नारायणी नदीमा मोटरबोट चढ्न आन्तरिक पर्यटकको भीड लाग्ने गरे पनि अहिले चहलपहल घट्दै गएको छ।
नारायणी नदीमा आएको बाढीका कारण नदी किनारका केही भाग कटानमा परेका छन् । बाढीको त्राससमेत पूर्ण रूपमा नहटिसकेकाले तत्काल पर्यटकको आगमन बढ्न कठिन भए पनि नदी किनारको अवस्था क्रमशः सहज बन्दै गएसँगै मोटरबोट व्यवसायमा चहलपहल बढ्ने अपेक्षा व्यवसायीले गरेका छन्। रासस


