नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा नेवाः खलः कोलोराडोले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर र पूर्व प्राध्यापक, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मालाई पुरस्कृत गर्ने भएको छ।
आगामी नोभेम्बर १४ तारिख शनिबार नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा आयोजना गर्न लागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार वितरण गर्ने बताइएको छ।
संस्थाले नेपाल संवत् ११४७ को अवसर पारेर “कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा (पुरस्कार) ११४६” अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरलाई र “कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन जोशी सिरपा (पुरस्कार)” डा. विजयराज शर्मालाई प्रदान गर्न लागेको हो।
प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा निरन्तर क्रियाशील रहेको र यसै वर्ष कोलोराडोमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी कोलोराडोको पहिचान विश्वभर रहेका नेपालीमाझ पुर्याउन सफल भएको भन्दै यस वर्षको कोलोराडो नेवाः खलः नेपाल संवत् प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार) ११४६ द्वारा पुरस्कृत गर्न लागिएको हो।
त्यसैगरी डा. शर्मा लामो समयदेखि कोलोराडोमा रही अध्ययन, अध्यापनपश्चात् अवकाशप्राप्त जीवन बिताउँदै विभिन्न नेपाली संघ-संस्थाहरूमा आबद्ध भई नेपाली भाषी समुदायको पहिचान र विकासमा सक्रिय रहेका छन्। उनले नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा लेख, रचना तथा अभिव्यक्तिमार्फत समाज र नेपाल राष्ट्रको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै “कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा – ११४६” द्वारा पुरस्कृत गर्न लागिएको नेवाः खलः कोलोराडोका अध्यक्ष भूषणलाल श्रेष्ठले बताएका छन्।
संस्थाले गत वर्षदेखि कोलोराडो “नेवाः खलः शताब्दी पुरुष सत्यमोहन सिरपा (पुरस्कार)” अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई र “कोलोराडो नेवाः खलः नेपाल संवत् प्रवर्तक शंखधर साख्वा सिरपा (पुरस्कार)” अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ-संस्थामध्ये उत्कृष्ट एकलाई खलःको तर्फबाट यो सम्मान गरिने घोषणा गरी पुरस्कृत गर्दै आएको छ।
शंखधर साख्वा सिरपा नेपालस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र शताब्दी पुरुष सत्यमोहन सिरपा लोक साहित्य परिषदसँग आवद्धता भई प्रदान गर्न लागिएको हो।
नेपाली भाषी समुदायलाई सकारात्मक परिवर्तन गर्न अमूल्य योगदान पुर्याएको संस्था र व्यक्तिलाई पुरस्कार प्रदान गरी सम्मान गर्ने कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।
संस्थाले नेपाल संवत् ११४७ भिंतुना कार्यक्रम तथा आगामी ११४७-११४९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन तथा पदस्थापन, इन्द्र जात्राका सहभागी कुमारी, गणेश, भैरव, लाखे, झ्यालिंचा, सांस्कृतिक कलाकार लगायत सम्पूर्ण स्वयंसेवकहरू तथा प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज स्पोन्सरहरूलाई सम्मान गर्ने महासचिव सञ्जय शाक्यले बताएका छन्।
यसैगरी विगत २० वर्षदेखि कोलोराडो राज्यमा रही नेपालीभाषी विभिन्न संघ-संगठनमा आफ्नो अमूल्य योगदान दिएका, नेपाल सरकारको उच्च पद सम्हालेर राष्ट्र सेवापछि अवकाशप्राप्त जीवन बिताइरहेका समाजसेवी कोलोराडो नेवाः खलःका शुभचिन्तक ९२ वर्षीय रामप्रसाद श्रेष्ठलाई यस कोलोराडो नेवाः खलःको मानार्थ सदस्यता प्रदान गर्ने घोषणा गरेको खलःका उपाध्यक्ष मनोज काजी तुलाधरले बताएका छन्।


